सहकारी अपचलन : सांसद सासू, ज्वाइँसहित ३५ जनालाई १६ करोड बिगो

नवलपुर सदरमुकाम कावासोतीको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलन र घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बर्दियाका प्रतिनिधि सभा सदस्य गीता बस्नेत, बस्नेतका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपीकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको हो ।