काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले असार १५ गते आठौं वार्षिक साधारण सभा (AGM) बोलाएको छ । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा उक्त दिन बिहान साढे ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांश (Dividend)लाई समेत अन्तिम रुप दिनेछ । कम्पनीले यस वर्ष गत वर्षको मुनाफा (Profit)बाट हाल कायम चुक्ता पूँजी (Paid up Capital) रू. १२ अर्ब २३ करोड २५ लाखको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
बोनस शेयर (Bonus Share) वितरणपछि कम्पनीको चुक्ता पूँजी रू. १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार पुग्नेछ । सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते एक दिन बुक क्लोज गर्नेछ । बुक क्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले सर्वसाधारणमा आईपीओ (IPO) जारीपछि तीन आर्थिक वर्ष निरन्तर लाभांश वितरण गर्दै आएको छ । यसअघि आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल १९ प्रतिशत र आर्थिक वर्ष ०७७/७८ मुनाफाबाट कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो ।