कञ्चनपुरमा बेमौसमी वर्षाले खेतीपातीमा साढे ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । पालिकाहरूमार्फत संकलन गरिएको तथ्यांकअनुसार धानवाली, तोरी, आलु, तरकारी र केरालगायतमा ३ अर्ब ६३ करोडको क्षति भएको हो । सबैभन्दा बढी धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा १६ हजार ३०२ हेक्टरको धानबाली नष्ट भएको छ । जुन जिल्लामा धानखेती हुने क्षेत्रफल ४६ हजार ४९६ हेक्टरको ३३ प्रतिशतभन्दा बढी हो । यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर छ । धानखेतीमा मात्रै १ अर्ब ८२ करोडको क्षति भएको छ ।