कैलाश हेलिकप्टर सर्भिसेस्ले आईपीओ जारी गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३५ करोड रुपैयाँको १० प्रतिशत आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो । सर्वसाधारणमा ३ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने तयारी कम्पनीले गरेको हो ।  यसका लागि कम्पनीले विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । बुधवार एक कार्यक्रमबीच विक्री प्रबन्धक नियुक्तिको काम सम्पन्न भएको हो ।  विक्री प्रबन्धक नियुक्तिको सम्झौतापत्रमा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध सञ्चालक प्रताप जङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने कम्पनीका प्रबन्ध सञ्चालक पाण्डेले जानकारी दिएका छन् ।  सन् २०१८ मार्च २३ बाट सञ्चालनमा आएको यस कम्पनीले फ्रान्सको एयरबस कम्पनीद्वारा निर्मित एएस३५० सिरिजको ३ ओटा हेलिकप्टरमार्फत उच्चस्तरीय विविध सुविधा प्रदान गर्दै आएको छ । सञ्चालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोभिड १९ महामारीको समय आर्थिक वर्ष ०७६/०७७ बाहेक हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिँदै आएको छ ।  कम्पनीले आर्थिक वर्ष ०७९/०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई ५% बोनश शेयर र १०% का दरले नगद लाभांश वितरण गरेको थियो । उक्त बोनश शेयरपश्चात कम्पनीको चुक्ता पूँजी ३१ करोड ५० लाख रुपैयाँ कायम भएको छ ।  यस कम्पनीको बोनश वितरणपश्चात किताबी मूल्य १४६ रुपैयाँ २९ पैसा कायम भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकप्टर कम्पनीले ५ वर्षभित्र ५ थान हेलिकप्टर पु¥याउनुपर्ने भनी जारी गरिएको नीतिलाई अनुशरण गर्दै सन् २०२७ सम्ममा कुल ५ ओटा हेलिकप्टर सञ्चालनमा ल्याउने कम्पनीको योजना छ ।