एक दशकदेखि बन्द रहेको रसुवाको धुन्चेस्थित हिमालयन स्प्रिङ वाटर प्रालि आगामी असोेजको दोस्रो सातादेखि पुनः सञ्चालनमा आउने भएको छ । अब यसको नाम हिमालयाज स्प्रिङ वाटर हुनेछ । कोरियन लगानीमा स्थापित यस कम्पनीले हिमालयाज वन टप ब्रान्डको पानी उत्पादन गर्नेछ । ४० करोड रुपैयाँको लगानी रहेको यस कम्पनीको पानी उत्पादन तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । यसले प्रयोग गर्ने पानीको मुहान लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ ।
कम्पनीका महाप्रबन्धक गंगा धितालका अनुसार कम्पनीले अहिले स्प्रिङ वाटरको परीक्षण उत्पादन गरिरहेको छ । ‘कम्पनीमा नयाँ उपकरण जडान, मर्मत र नयाँ थप्ने काम भइरहेको छ,’ धितालले भने । सुरुमा दैनिक ५०हजार बोटल स्प्रिङ वाटर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । दैनिक उत्पादन क्षमता एक लाख बोटल रहेको कम्पनीले परीक्षणको रूपमा थोेरै उत्पादन गर्न लागेको हो ।
नौ सय मिलिमिटर पानीको बोटलको मूल्य ३५ देखि ४० रुपैयाँसम्म पर्ने धितालले बताए । निर्यात गर्ने उद्देश्यले उत्पादन सुरु गरिएको भए पनि हाललाई नेपाली बजारमा पनि विक्रीवितरण हुने कम्पनीले बताएको छ ।
सन् १९९८ मा कोरियाको नारा इन्टरनेसनल हिमालयन स्प्रिङ वाटर र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा कम्पनी स्थापना भएको थियो । राष्ट्रिय वाणिज्य बैंकको ऋणमा स्थापना भएको कम्पनीले २००० देखि उत्पादन सुरु गरेको थियो ।
वर्ष ५, अंक ४६, २०६७, साउन ३–९