विराटनगर (अस) । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेका छन् । आइतवार विराटनगरस्थित आफ्नो निवासमा पत्रकारसँगको भेटमा कोइरालाले सत्तारूढ दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको संक्रमण भयावह रूपमा फैलिएको आरोप लगाए । ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले योजनाबद्ध रूपमा काम गर्न नसकेकै हो’, उनले भने, ‘सीमा नाकामा समयमै होल्डिङ सेन्टर निर्माण, अक्सिजनको जोहो, आइसोलेसन निर्माण लगायतमा सरकार गम्भीर देखिएन ।’ कोरोनाविरुद्धको लडाइँमा विगतमा भएका कमजोरीबाट पाठ सिकेर तत्काल खोप खरीद गर्न उनले सरकारलाई सुझाव दिए ।
विकास निर्माणको खर्च कटौती गरेर तत्काल खोप खरीद गर्नुपर्नेमा उनले जोड दिए । ‘सरकारको पहिलो कर्तव्य भनेकै जनता बचाउनु हो, जनता बचाउन अनुदानमा होइन, विकास खर्च कटौती गरेर भए पनि खोप गरीद गर्नुपर्छ,’ उनले भने । उत्पादक राष्ट्रसँग सीधै सम्पर्क गरेर खोप किनेर जनतालाई लगाउनुको विकल्प नभएको उनले बताए । स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकार मिलेर युद्धस्तरमा अस्थायी अस्पताल बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।