साङहाई । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण चीनको व्यावसायिक हब साङ्हाईको जनसंख्या घटेको छ । स्थानीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०२२ मा त्यहाँको जनसंख्या २ करोड ४७ लाख ८० हजार रहेको छ । अघिल्लो वर्ष जनसंख्या २ करोड ४८ लाख ९० हजार थियो । जनसंख्यामा आएको यो कमी ५ वर्षयताकै पहिलो हो ।
स्थानीय अधिकारीहरूले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न कठोरतम् बन्दाबन्दी गरेको अनि थप विदेशी कामदारहरूले शहर छाडेपछि जनसंख्या घटेको हो । राजधानी पेचिङमा पनि गत वर्ष जनसंख्या सन् २००३ यता पहिलो पटक घटेको थियो । तर, दुवै शहरको जनसंख्या प्रवृत्ति राष्ट्रियस्तरकै छ । गएको वर्ष चीनको जनसंख्या ६ दशकमा पहिलो पटक घटेको थियो । ठूला शहरहरूमा जीवनयापन खर्च धान्नै नसक्ने हुन थालेपछि यसको असर जन्मदरमा देखिन थालेको छ ।
कमजोर आर्थिक वृद्धिदर अनि विवाह र परिवारप्रति मानिसहरूको धारणामा आइरहेको परिवर्तनका कारण पनि जनसंख्या परिवर्तन तीव्र बनिरहेको छ । सरकारी सर्वेक्षणमा साङ्हाईमा बस्ने झण्डै ६० प्रतिशत मानिसहरूले आफूले एउटा मात्रै बच्चा चाहेको वा बच्चै नचाहेको बताएका थिए । शिशु स्याहारको खर्च थेग्न नसकेको भन्दै २८ प्रतिशतले भने अरु बच्चा नजन्माउने बताएका थिए । एक वर्षअघिको तुलनामा साङहाईमा प्रतिहजार जनामा जन्मदर ४ दशमलव ४४ मा झरेको छ ।
प्रतिहजार जनामा मृत्यु दर भने ५ दशमलव ६ रहेको छ । वृद्ध जनसंख्या बढ्दै गर्दा शहरमा जन्मने भन्दा मर्नेको संख्या बढेको छ । गएको वर्ष चीनको जन्मदर प्रतिहजारमा ६ दशमलव ७७ मा आएको थियो । यो अहिलेसम्मकै न्यून हो । साङहाईमा करीब १८ दशमलव ७ प्रतिशत जनसंख्या ६५ वर्ष वा सोभन्दा धेरै उमेरका छन् । देशभरमा यो उमेर समूहको औसत अनुपात १४ दशमलव ९ प्रतिशत छ । गएको वर्ष अप्रिल र मेमा कठोर खालको लकडाउन हुँदा शहरमा धेरैजसो महिलाहरूले सन्तान जन्माउने योजनै त्यागेका थिए ।
कोभिडका कारण सन्तान जन्माउने चाहनामा उल्लेख्य क्षति पुर्याएको जनसंख्याविद्हरूले बताइरहेका छन् । घट्दो जनसंख्याप्रति चिन्तित भएर केही राजनीतिक सल्लाहकारहरूले सरकारलाई जन्मदर बढाउन २० ओटाभन्दा धेरै सुझाव दिएका छन् । एजेन्सी