पुस २८, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपछि कम्पनीको पूँजी रू. ६ करोड ८६ लाख २५ हजार पुग्नेछ ।
चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा रू. २ करोड २६ लाख ७७ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा घटेर रू. ४१ लाख ३५ हजारमा झरेको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड ४३ लाख ऋणात्मक रहेको र खुद ब्याज आम्दानी पनि गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेकाले नाफा घट्न दबाब पुगेको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ४ करोड ९ लाख ३८ हजार खराब कर्जा उठाएको छ । कम्पनीले जगेडामा रू. १३ करोड १३ लाख ९१ हजार सञ्चित गरेको छ ।