दुग्ध ढुवानीको प्रतीक चिह्न प्रयोग गर्न आह्वान

नेपाल डेरी एसोसिएसनले डेरी उद्योगीहरूलाई राष्ट्रिय दुग्ध विकास बोर्डले तयार गरेको प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउन आह्वान गरेको छ । बन्द, हडताल तथा बन्दाबन्दीलगायतको अवस्थामा दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई रोकटोक गरिएको गुनासो आएपछि बोर्डले सो गाडीका लागि छुट्टै लोगो तयार परेको छ । लोगो वितरण कार्य सुरु भइसकेको हुनाले एसोसिएसनले डेरी उद्योगीहरूलाई लोगो लिई प्रयोगमा ल्याउन आह्वान गरेको छ । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ पास भइसकेको छ । बोर्डले सूचना प्रकाशित गरी सबै डेरी उद्योगलाई आवश्यक कागजातसहित लोगोका लागि निवेदन दिन आह्वान गरेको थियो । सो आह्वानबमोजिम पहिलो चरणमा दुग्ध विकास संस्थान (डीडीसी) र हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई लोगो प्रदान गरिएको छ ।