कात्तिक ९, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई राजिनामा दिएर मार्ग प्रसस्त गर्न स्वास्थ्यमन्त्री विरोध खतिवडाले निर्देशन दिएका छन् ।
लामो समयदेखि पदाधिकारीहरुको राजिनामाको माग गर्दै चर्किएको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले उच्चस्तरिय छानबिन समिति गठन गरेको थियो ।
समितिका संयोजक रहेका स्वास्थ्यमन्त्री खतिवडाले मंगलवार प्रतिष्ठानका पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटघाट गरी राजिनामा दिएर मार्ग प्रसस्त गर्न निर्देशन दिएका हुन् ।
राजनीतिक अस्थिरताका बिच लामो समयपछि नेपाल सरकारको स्वास्थ्यमन्त्री बनेका विरोध प्रतिष्ठानको वस्तुस्थिति बुझ्न धरान आएका थिए ।
स्वास्थ्यमन्त्रीसहित प्रतिष्ठानको विषयमा छानविन गर्न बनेको समितिका पदाधिकारी समेत प्रतिष्ठान पुगेर पदाधिकारीहरुसँग छलफल गरेका थिए ।
स्वास्थ्यमन्त्री खतिवडाले प्रतिष्ठानमा उठेकोे वेथिति, अराजकता, भ्रष्टाचारको विषयमा उच्च स्तरीय छानविन समितिले बुझ्ने काम भइरहेको बताउँदै चाडै नै यसको किनारा लाग्ने आश्वासन दिए । अस्पतालको गरिमा माथि आँच आउन नदिन नेपाल सरकार गम्भीर भएको बताउँदै आन्दोलरत पक्षको मागको सम्बोधनलाई मध्यनजर गरी चाडै सरकार निष्कर्षमा पुग्ने बताए ।
सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरिसकेको बताउँदै मन्त्रालयले पनि आन्दोलनरत पक्षसँग ऐनको दफा ११(घ) अनुसार कारबाही गर्न सम्झौता रहेको बताउँदै छानविन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास दिलाए ।
६ महीनाभन्दा लामो समयदेखि प्रतिष्ठानको संघर्ष समितिको आन्दोलनपश्चात प्रतिष्ठानका रजिष्ट्रार पदबाट प्रा.डा.मोहनचन्द्र रेग्मीले राजिनामा दिइसकेका छन् । रजिष्ट्रारले मार्ग प्रसस्त गरेको भन्दै मन्त्रालयले उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहलाई समेत राजिनामा दिएर मार्ग प्रसस्त गर्न निर्देशन दिएको छ । तर तीनैजना पदाधिकारीरले अहिलेसम्म राजिनामा दिएका छैनन् ।
स्वास्थ्यमन्त्री खतिवडाले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर अग्रवाल र शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाललाई छुट्टाछुट्टै भेटेर छलफल गरेका थिए । छलफलमा छानविन समिमितका संयोजक खतिवडा सहित उच्चस्तरीय छानबिन समितिका सदस्य एवम् सिनेट सदस्य एवम् मन्त्रालयका प्रवक्ता डा.रोशन पोखरेल र सिनेट सदस्य एवम् धरानका मेयर तिलक राईको समेत छलफलमा सहभागि भएका थिए ।
प्रतिष्ठानमा बेथिति बढेको, अनियमितता एवम् भ्रष्टाचारमा पदाधिकारीहरु चुर्लुम्म डुबेको भन्दै कारबाहीको माग गर्दै चिकित्सक, कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएर अहिले पनि आन्दोलनमा छन । लामो समयसम्म आन्दोलनको सुनुवाई नेपाल सरकारले नगरेपछि दशैंपछि लगत्तै संघर्ष समितिले राजधानी नै पुगेर प्रधानमन्त्री एवम् प्रतिष्ठानका कुलपति शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री एवम् सहकुलपति विरोध खतिवडालाई भेटेर प्रतिष्ठानको समस्या समाधान चाडो निकाल्न अनुरोध गरेका थिए ।
लगत्तै स्वास्थ्यमन्त्री खतिवडाले आन्दोलनरत पक्षको मागलाई ध्यानाकर्षण गर्दै प्रतिष्ठानको वस्तुस्थिति बुझ्न धरान आएको हो ।