३ ओटा लघुवित्त कम्पनी १६ लाख ७९ हजार कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा

मंसिर ३, काठमाडौं । तीन ओटा लघुवित्त वित्तीय संस्था १६ लाख ७९ हजार २२४ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् ।  नेपाल धितोपत्र बोर्डका अनुसार किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले उक्त एफपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन । ती तीन ओटै कम्पनीले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।  धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र ती कम्पनीहरुले एफपीओ निष्कासन गर्नेछन् । तीन ओटा कम्पनीहरु मध्ये सबैभन्दा बढी किसान लघुवित्तले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने छ । उक्त कम्पनीले एफपीओ निष्कासन गर्नका लागि गत असार २९ गते धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपश्चात  एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाबाट कारोबार गर्दै आएको छ । त्यसैगरी नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत भदौ ९ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभिएसँगै बनेको नयाँ सारथी लघुवित्त वित्तीय  संस्थाले एफपीओ निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी मिर्मिरे लघुवित्तले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत कात्तिक २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गर्न लागेको एफपीओलाई इक्रा एनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाँउछ । कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । स्वेडा लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत कम्पनी भने होइन । सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नु पर्ने कानूनी प्रावधान भएकाले ती तीन ओटा कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।  

सम्बन्धित सामग्री

झिनो अंकले घट्यो सेयर बजार

काठमाडौँ - सेयर बजार झिनो अंकले घटेको छ । साताको तेस्रो दिन सेयर १.८५ अंकले घटेर २ हजार १०.२० मा रोकिएको छ ।  आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५५८ रुपैयाँ ४९ पैसाको कारोबार भएको छ । आज लघुवित्तहरुको सेयर बढेको छ  । गुराँस लघुवित्त कम्पनी...

झिनो अंकले घट्यो सेयर बजार

काठमाडौँ - सेयर बजार झिनो अंकले घटेको छ । साताको तेस्रो दिन सेयर १.८५ अंकले घटेर २ हजार १०.२० मा रोकिएको छ ।  आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५५८ रुपैयाँ ४९ पैसाको कारोबार भएको छ । आज लघुवित्तहरुको सेयर बढेको छ  । गुराँस लघुवित्त कम्पनी...

२४ लाख ६७ हजार कित्ता आईपीओ ल्याउने तयारीमा ४ ओटा लघुवित्त कम्पनी

भदौ ५, काठमाडौं ।  चार ओटा लघुवित्त कम्पनीले कुल २४ लाख ६७ हजार बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेका छन् ।   राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था,जाल्पा लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।   ती चार ओटा कम्पनीमध्ये सबैभन्दा बढी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन  गर्नेछ । उक्त कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउन गत असार २४ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ पनि गराइसकेको छ । उक्त आईपीओलाई इक्रा नेपालले इक्रा आईआर बीबी रेटिङ प्रदान गरको छ । यस्तो रेटिङले कम्पनीले समयमा नै दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड ६५ लाख खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ४ करोड ९५ लाख ६९ हजार पुगेको हो । खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा वृद्धि र रू. १६ लाख २२ हजार खराब कर्जा उठाएकाले गत आवमा कम्पनीको नाफा बढ्न टेवा पुगेको हो ।   त्यसैगरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका धितोपत्र बोर्डमा गत असार ६ गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको खुद नाफा गत आवमा ६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ९ करोड ७८ लाख ८७ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. १६ करोड ३३ लाख ८ हजार पुगेको हो । गत आवमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएकाले कम्पनीको नाफामा वृद्धि भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी १ दशमलव ४६ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्नका लागि गत असार २० गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआइआर बिबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ ।  उक्त कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराएको हो ।  त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न गत साउन १३ गते धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त कम्पनीको नाफा पनि अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा सोही अवधिमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । अघिल्लो आवमा रू. ४७ लाख ९० हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू. ६ करोड १३ लाख २६ हजार पुगेको छ ।  गत अवमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफामा पनि वृद्धि भएको छ । सो अवधिमा रू. ४९ करोड ७५ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।   उपकार लघुवित्त र नेष्डो समृद्ध लघुवित्तले रेटिङ गराएका भने छैनन् । ती चारवटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् ।                                                                स्रोत : सेबोन र कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरणमा आधारित