विश्वकप फूटबलको प्रत्यक्ष प्रसारणबारे टेलिकमका कर्मचारी आन्दोलित, घाटाको व्यापार गरेको आरोप

कतारमा हुने विश्वकप फुटबल नेपालमा देखाउने बिषयलाई लिएर नेपाल टेलिकमका कर्मचारी आन्दोलित भएका छन्। टेलिकमका ग्राहकले टेलिकमको प्ल्याटफर्म मार्फत कतारमा हुने विश्वकप फुटबल हेर्दा टेलिकमले तिर्नुपर्ने मुल्य महँगो र औचित्यहिन भएको भन्दै आफुहरु आन्दोलित भएको टेलिकमका कर्मचारीले जनाएका छन्। नेपाल टेलिकमको मोबाइल तथा एनटिटिभी मा ओटिटि मार्फत फुटबल हेर्न मिल्ने र त्यसका लागि टेलिकमले मिडिया हबलाई २४ करोड रुपैयाँ तिर्नुपर्ने भएपछि कर्मचारीहरु आन्दोलित भएका हुन्। 'हाम्रो संचालक समितिले नेपाल टेलिकमको मोबाइल तथा एनटिटिभी मा ओटिटि मार्फत फुटबल टेलिकमका ग्राहकलाई फुटबल हेराउन कतारमा हुने विश्वकप फुटबल नेपालमा देखाउने आधिकारिकता पाएको मिडिया हबलाई २४ करोड दिने सम्झौता गरेको छ' आन्दोलित कर्मचारी युनियनका महासचिव मणि कुमार पोखरेलले बिजपाटीलाई भने, 'उक्त सम्झौताले टेलिकमलाई २२ करोड भन्दा बढी घाटा हुन्छ, यस्तो घाटाको ब्यापार गर्नु हुदैन भनेर बिरोध गरेका हौँ। 'नेपाल टेलिकमका टेलिभिजन ग्राहक १५०० पनि नभएको अवस्थामा नेपाल टेलिकमको मोबाइल मार्फत फुटबल देखाउछौ भनेर संचालक समितिले मिडिया हबलाई २४ करोड तिर्ने सम्झौता गर्नु सरासर घाटाको ब्यापार भएको निष्कर्ष सहित आफु चारवटै कर्मचारी युनियन यसको बिरोधमा रहेको पोखरेलले बताए। मिडिया हबले आफुले तिरेको भन्दा झन्डै तीन गुणा बढी रकम टेलिकमबाट असुल्न लागेको र त्यसका लागि संचालक समितिलाई मनाउन सफल भएको कर्मचारीहरुको आरोप छ। टेलिकमका ग्राहकले टेलिकमको प्ल्याट फर्म मार्फत फुटबल देखाउनका लागि मिडिया हबसँग २४ करोडको सम्झौता गर्नलाई संचालक समितिले सैदान्तिक स्वीकृति दिएको टेलिकमका संचालक अम्बिका प्रसाद पौडेलले पनि पुष्टि गरेका छन्। नेपाल टेलिकमको ग्राहक संजाल ठुलो भएको र धेरै भन्दा धेरै नेपालीहरुले फुटबल हेर्न पाउन भन्ने उदेश्यले आफुले पहिलो प्राथमिकतामा राखेर नेपाल टेलिकमलाई प्रस्ताव गरेको मिडिया हबका अध्यक्ष सोम धितालले बिजपाटीलाई बताए। 'हामीसँग कुन प्ल्याट फर्म प्रयोग गर्ने भन्ने छुट छ तर सकेसम्म सरकारी सँस्थासँगै समन्वय गरौं भनेर टेलिकमलाई प्राथमिकता राखेर प्रस्ताव पठाएका छौं ' नेपाल विज्ञापन संघका अध्यक्ष समेत रहेका सोम धितालले भने , 'तर संचालक समितिले के प्रस्ताव गरेको छ र त्यहाँका कर्मचारीले के भनेका छन् त्यसको जानकारी छैन। 'सन २०१८ मा रसियामा विश्वकप फुटबल हुँदा पनि मिडिया हबले नेपालमा फुटबल देखाउने आधिकारिता पाएको थियो। तर त्यो बेला नन एक्सक्लुसिभ सहमति भएकाले भारतका अन्य च्यानलबाट पनि नेपालमा फुटबल हेर्न पाइन्थ्यो।  तर यस पटक मिडिया हबले  एक्सक्लुसिभ सहमति गरेकाले मिडिया हबले अनुमति दिएको टिभी तथा प्ल्याटफर्म मार्फत मात्र फुटबल हेर्न पाइनेछ।  

सम्बन्धित सामग्री

छिमेकी देशमा विश्वकप निशुल्क, नेपालमा भने मिडिया हबको 'लूट धन्दा'

यतिबेला पाकिस्तानको एरि डिजिटल स्पोर्ट्सले कतारमा हुने फुटबल विश्वकपको प्रत्यक्ष प्रसारण आफ्नो टेलिभिजन च्यानल ए स्पोर्ट्स एचडी मार्फत हुने प्रचार गरिरहेको छ । उसले प्रत्यक्ष प्रसारण 'फ्री' अर्थात् निशुल्क हुने पनि बताईरहेको छ । त्यस्तै बंगलादेशको टी स्पोर्ट्स टेलिभिजन च्यानलले पनि 'फिफा विश्वकप २०२२' सिधै टी स्पोर्ट्सको स्क्रिनमा हेर्न सकिने भन्दै प्रचार गरिरहेको छ। एरि डिजिटल स्पोर्ट्स र टी स्पोर्ट्सले आफै फिफाबाट प्रसारण अधिकार भने लिएका होइनन्। फिफाले नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान र माल्दिभ्समा विश्वकप प्रसारणको सम्पूर्ण अधिकार भारतीय कम्पनी भियाकम १८ इन्डियालाई दिएको थियो । पाकिस्तानमा भियाकमले आफुले पाएको प्रसारण अधिकार एरि डिजिटल स्पोर्ट्सलाई बेचेको हो। त्यस्तै भियाकमले बंगलादेशमा आफुले पाएको अधिकार एभिमोर, एभिमोरले नरवेस्टर र नरवेस्टरले टी स्पोर्ट्सलाई बेचेको हो । भियाकमले नेपालमा पनि आफुले पाएको प्रसारण अधिकार मिडिया हब प्रालिलाई बेचेको हो । जुन तरिकाबाट भियाकमले प्रसारण अधिकार पाकिस्तान र बंगलादेशको कम्पनीलाई बेचेको हो, सोहि तरिकाबाट भियाकमले नेपालको अधिकार पनि मिडिया हबलाई बेचेको हो । यो एक्सक्लुसिभ अधिकार हो । पाकिस्तान र बंगलादेशका च्यानलले आफुले प्रसारण अधिकार खरिद गरेर दर्शकलाई निशुल्क रुपमा विश्वकप देखाउने तयारी गरिरहेका छन् । तर नेपाल भने सोहि प्रकृतिको अधिकार खरिद गरेर मिडिया हबले विश्वकप देखाउन दर्शकसँग थप शुल्क अर्थात् ५०० मागिरहेको छ । अर्थात् ५०० नतिर्ने दर्शकले विश्वकप हेर्न पाउने छैनन् ।मिडिया हबका अध्यक्ष सोम धिताल आफुले १५ लाख डलरमा भियाकमबाट प्रसारण अधिकार खरिद गरेको बताउछन् । यो रकम नेपाली रकम अनुसार २० करोड हाराहारी हुन आउँछ । २० करोडमा अधिकार खरिद गरेको र विश्वकप निशुल्क देखाउंदा आफुलाई घाटा पर्न भन्दै शुल्क लिन लागिएको उनको भनाई छ।तर उनले भने जस्तो निशुल्क विश्वकप देखाउंदा मिडिया हबलाई घाटा हुने अवस्था भने छैन । मिडिया हबले हिमालयन टेलिभिजन मार्फत विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ। विश्वकप लाइभ देखाउन पाउनु आफ्नो लागि गौरव र प्रतिष्ठाको विषय भएकोले हिमालयन टिभीले कुनै शुल्क नलिने निर्णय गरेको छ । अर्थात् विज्ञापन र दर्शकबाट जति रकम उठ्छ सबै मिडिया हब र केबुल सेवा प्रदायकले पाउने छन् । विज्ञापन एजेन्सीहरु विश्वकपमा विज्ञापन बाट नै २० करोड सजिल्यै उठ्न सक्ने बताउछन् । मिडिया हबका मालिक धिताल आफै विज्ञापन संघका अध्यक्ष समेत हुन् । उनले विश्वकप् हेर्न पैसा लिने निर्णय गरेपछि विज्ञापन संघ नै फुटेर हाल २ वटा भएको छ । विज्ञापन बाट नै सम्पूर्ण खर्च उठेर नाफा समेत हुने स्थिति हुँदा हुँदै अनि मिडिया हबले दर्शकसँग पैसा लिएर लुट धन्दा गर्न लागेको केहि विज्ञापन एजेन्सीको आरोप छ ।विज्ञापन बाहेक मिडिया हबले ओटिटि प्लेटफर्म मार्फत पनि विश्वकप देखाउने तयारी गरिरहेको छ । यसको लागि उसले नेपाल टेलिकमको साथै ऐनसेलसँग पनि छलफल गरिरहेको छ । ओटिटि अधिकार २० करोड रुपैयाँ सम्ममा बिक्रि गर्ने मिडिया हबको योजना भएपनि नेपाल टेलिकमको संचालक समिति ससर्त २३ करोडसम्म दिन तयार देखिन्छ। यसो हुँदा ओटिटि अधिकार बिक्रि बाट नै मिडिया हबले भियाकमसँग अधिकार खरिद गर्दाको खर्च उठ्ने देखिन्छ। यसो हुँदा विज्ञापनबाट आउने रकम उसको नाफा हो । त्यसैले पनि दर्शकबाट थप रकम उठाएर मिडिया हबले विश्वकप फुटबल देखाउने बहानामा लुटधन्दा गर्न लागेको भन्दै दर्शक समेत रुष्ट बनेका छन् । भायाकमले प्रसारण अधिकार लिएको भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान र माल्दिभ्समा पनि विश्वकप हेर्न दर्शकबाट थप शुल्क माग गरिएको छैन । सबै देशमा विज्ञापन बाट नै खर्च उठाएर दर्शकलाई निशुल्क खेल देखाइने छ । तर नेपालमा भने मिडिया हबले दादागिरी गरेको गुनासो बढ्न थालेको छ । यो पनि :- काही नभएको जात्रा नेपालमा : विश्वकप हेर्न पनि पैसा तिर्नुपर्ने- विश्वकप फुटबलमा ३५ करोडको व्यापार गर्ने टेलिकमको लक्ष्य, शर्तसहित बोर्डले दियो स्वीकृति- विश्वकप फूटबलको प्रत्यक्ष प्रसारणबारे टेलिकमका कर्मचारी आन्दोलित, घाटाको व्यापार गरेको आरोप- कतारमा हुन गइरहेको फिफा फुटबल विश्वकप यति धेरै विवादित किन ?