डेढ महिनापछि खुलेको सेयर बजारको ओपनिङ सुखद् रहेन । परिसूचक २ प्रतिशतले घटेपछि बजार बन्द गर्ने नीतिअनुसार २.०२ प्रतिशतले घटेपछि बजार बन्द गरियो । यद्यपि, सेयर बजारको यो गिरावट अनपेक्षित भने थिएन । संसारभर अर्थतन्त्रको ऐना भनिने र नेपालमा अझ विशिष्ठीकृत शब्दमा भन्ने हो भने वित्तीय क्षेत्रको ऐना मानिएको सेयर बजारमा गिरावटलाई त्यति अस्वाभाविक रूपमा लिनुपर्ने अवस्था छैन । कोरोना र लकडाउनले अर्थतन्त्र संकटमा परेको र बैंक तथा वित्तीय क्षेत्रमा पनि त्यसको प्रत्यक्ष असर देखिसकेको अवस्थामा सेयर बजार बढ्नुपर्ने कुनै कारण थिएन र यसले पहिलो दिनको कारोबारले स्वाभाविक लय लिएको भन्न सकिन्छ । बैंकहरूको मुख्य आम्दानीको स्रोत मानिएको ब्याज संकलन तीन महिनादेखि ठप्प रहेको र अझै ६ महिनासम्म ठप्प नै रहने बैंकरहरूको आकलनका आधारमा पनि यस क्षेत्र अझै ठूलो नोक्सानीमा जाने देखिन्छ र निश्चय पनि यसको असर सेयर बजारमा देखिन्छ नै ।