वीरगञ्ज नाका : वैदेशिक व्यापारमा सवारीसाधन र इन्धन आयातको वर्चस्व

वीरगञ्ज । वीरगञ्ज नाकाबाट हुने वैदेशिक व्यापारमा सवारीसाधन र इन्धनको मुख्य अंश देखिएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आर्थिक वर्ष (आव) २०७७÷७८ मा सवारीसाधन र इन्धन मुख्य परिमाणमा भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ । वीरगञ्जबाट आयात हुने र राजस्वमा मुख्य योगदान वस्तुमा सवारी साधन र इन्धन नै मुख्य रहेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘वीरगञ्ज भन्सारबाट भित्रिने मुख्य वस्तु सवारीका साधन र पेट्रोलियम पदार्थ मुख्य हुन् । बितेको आर्थिक वर्षमा पनि आयातको मुख्य सूचीमा यिनै वस्तु परेका छन्,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने । गत आवमा यो नाकाबाट जीपकार भ्यान, मोटरसाइकल, ट्रक, मिनी ट्रकलगायत सवारीसाधन, इन्धन बढी भित्रिएको छ । वीरगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थ पनि उल्लेख्य परिमाणमा भित्रिन्छ । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगले यही नाकाबाट कच्चा पादर्थ भित्र्याउने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघ उद्योग समितिका संयोजक हरि गौतम बताउँछन् । एमएस बिलेट, कोइला, एमएस स्टील स्ट्रीप, पोलिथिन दाना, खाद्यान्न तथा दाना उद्योगको कच्चा पदार्थ आयात हुन्छ । पंखा, अप्टिकल फाइबर केबुल, मोटरको ब्याट्री, गाडीका पार्टपुर्जा र एलोपेथिक औषधि पनि भित्रिएको देखिन्छ । निर्याततर्पm भटमासको तेल, जुस, कपडा, जुत्तालगायत उत्पादन गएको भन्सारको तथ्यांकले देखाउँछ । भन्सारले उठायो रू. १ खर्ब ७० अर्ब वीरगञ्ज भन्सारले गत आवमा १ खर्ब ७० अर्ब रुपैयाँ राजस्व उठाएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार खस्किएर राजस्व घट्ने अनुमान गरिए पनि भन्सारले वर्षको अन्त्यमा लक्ष्य करीब पूरा गरेको हो । गत आवको साउनदेखि असारसम्म उठेको राजस्व लक्ष्यको ९९ दशमलव ६ प्रतिशत भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए । ‘संकलित रकम तोकिएको लक्ष्यभन्दा ७१ करोड रुपैयाँले कम हो । वीरगञ्ज भन्सारलाई गत आवका लागि १ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो,’ पौडेलले आर्थिक अभियानसित भने । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाखको मध्यबाट विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएपछि आयात घट्ने अनुमान गरिएको थियो । वैदेशिक व्यापारमा निषेधाज्ञाको खासै प्रभाव नदेखिएपछि राजस्व लक्ष्य पूरा भएको हो । वर्षको अन्तिम महीना असारमा भन्सारले लक्ष्यभन्दा बढी राजस्व उठाएको छ । १५ अर्ब २४ करोड रुपैयाँ उठाउने भनिएकोमा १६ अर्ब ६ करोड रुपैयाँ संकलन भएको भन्सारको तथ्यांकले देखाउँछ । यो रकम लक्ष्यभन्दा ५ प्रतिशत बढी हो ।