नेपाली काँग्रेसको नेतृत्वको वर्तमान संयुक्त सरकारले आइतबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता दिएको छ । निःशुल्क खोप लगाउनेदेखि खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्नेलगायतका कार्यक्रम समावेश गरेको छ । कोरोना महामारीबाट मुक्त हुन खोप पहिलो सर्त भएकाले स्वदेशमै खोप उत्पादन गर्नु आवश्यक भए पनि यो त्यति सहज भने छैन ।
कुल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात् करिब सवा दुई करोड व्यक्तिलाई कोरोनाविरुद्धको खोप आवश्यक पर्छ । मङ्गलबारसम्ममा २७ लाख २२ हजार २० जनाले पूर्ण खोप लगाइसकेका छन् । खोपको उपलब्धता बढ्दै गएकाले आशा बढाएको छ । सरकारले आगामी दुई महिनामा एकतिहाइ र सात महिनाभित्रै सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ ।