चितवनको रामपुरमा ‘ग्य्राजुएट कन्फ्रेन्स’ हुँदै

चितवन। कृषि तथा वन विश्वविद्यालय रामपुरमा आज (बिहीवार)देखि प्रथम ‘ग्य्राजुएट कन्फ्रेन्स–२०२३’ हुने भएको छ । कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा विविधीकरण गर्दै ग्रामीण समुदायको आर्थिक स्तर उकास्न सघाउने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो । विश्वविद्यालयको आयोजनामा हुने सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । बुधवार विश्वविद्यालयले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । सम्मेलनका संयोजक डा. ऋषिराम कट्टेलले सम्मेलनको तयारी भइरहेको र बाहिरी देशका अनुसन्धानकर्ता, वैज्ञानिक, प्राध्यापक समेत आउने क्रम जारी रहेको बताए । सम्मेलनमा नेपाल, संयुक्त राज्य अमेरिका, जापान, ताइवान, स्वीडेन लगायत देशका विज्ञहरूले सयओटा कार्यपत्र प्रस्तुत गर्नेछन् । कृषि, वन, मत्स्य क्षेत्रमा भएका नवीनतम खोज अनुसन्धान कार्यान्वयन गर्ने उद्देश्यसहित कार्यपत्र प्रस्तुत गरिने उनले बताए । ‘यो विश्वविद्यालयकै पहिलो सम्मेलन हो,’ उनले भने, ‘कृषिमा भएका अनुसन्धान, प्रविधि र ज्ञानको आदानप्रदान हुनुका साथै नेपालको कृषि क्षेत्रमा ठूलो योगदान पुग्नेछ ।’ तीन दिनसम्म चल्ने सम्मेलनलाई तीन भागमा वर्गीकरण गरिएको छ, जसअनुसार प्यानल छलफल, कार्यपत्र प्रस्तुत र प्राविधिक सत्र रहेका छन् । ‘शिक्षा र अनुसन्धानमार्फत कृषिको रूपान्तरण’ मूल नारा तय गरिएको सम्मेलनमा अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, वैज्ञानिक लगायत ३ सयभन्दा बढीको सहभागिता रहनेछ । सम्मेलनबाट प्राप्त उपलब्धिलाई नेपालको कृषि क्षेत्रमा प्रयोग गरिने विश्वविद्यालयका कृषि संकायका डीन डा. अर्जुनकुमार श्रेष्ठले बताए ।