रुसले युक्रेनमाथि गरेको आक्रमणको बदलामा विश्वभरबाट रुसमाथिको प्रतिबन्ध तीव्र पारिएको छ । अमेरिका लगायत देशहरुले प्रतिबन्ध कसिलो बनाइरहेका छन् ।
तर रुसमाथिको प्रतिबन्धले विश्वमा डलरको प्रभुत्व खस्काउने र डिजिटल मुद्राको प्रयोगलाई बढाउने बुहपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषकी एक शीर्ष अधिकारीले बताएकी छिन् ।
पश्चिमी देशहरुले लगाएको कठोर प्रतिबन्धका कारण रुसको अधिकांश विदेशी सम्पत्ति रोक्का भएको छ । बाँकी विश्वसँग व्यापार गर्न सक्ने रुसको क्षमता प्रभावित भएको छ । तर यसले विश्वको सञ्चिति मुद्राको रुपमा डलरको वर्चश्व पनि घटाएको छ । यो डलरमाथि अति नै निर्भर देशहरुका लागि झक्झकाउने घन्टी हो ।
आईएमएफकी डेपुटी म्यानेजिङ डिरेक्टर गिता गोपिनाथका अनुसार केही देशहरुले अन्तरराष्ट्रिय व्यापारमा भुक्तानी माध्यमका रुपमा प्रयोग गरिने मुद्राबारे अहिले नै पुनः वार्ता गर्न थालिसकेका छन् । यो परिदृश्यमा पनि डलर विश्वको मुुख्य मुद्राका रुपमा रहने भएपनि यसको प्रभुत्व सानो स्तरमा टुक्रिन सक्ने सम्भावना रहेको बिहीवार फाइनान्सियल टाइम्ससँगको वार्तामा गोपिनाथले बताइन् । केही व्यापार साझेदारबीच सानो मुद्रा समूह उदाउन शुरू भइसकेको उनले बताइन् ।
देशहरुले व्यापारमा प्रयोग गर्न यी मुद्राहरुको सञ्चिति बढाउन थालेपछि यसको भूमिका पनि बढ्दै जाने र यसको डलरको प्रभुत्व खस्काउन सक्ने गोपिनाथको भनाइ छ । विगत दशकमा अमेरिकी मुद्राको वर्चश्व घटिसकेको छ । मुद्रा कोषका अनुसार यस अवधिमा डलरको अन्तरराष्ट्रिय सञ्चिति ७० प्रतिशतबाट घटेर ६० प्रतिशतमा आएको छ । यस अवधिमा कारोबारमा प्रयोग हुने मुद्राको रुपमा चीनको युआन र अष्ट्रेलियाली डलरको पकड विस्तारै बढ्न थालेको देखिएको छ ।
विश्वभरका ७० भन्दा धेरै केन्द्रीय बैंकसँग युआन सञ्चिति मुद्राको रुपमा छ । कयौं अफ्रिकी देश र मध्य पूर्वका देशहरुले पनि नियमित रुपमा कारोबारका लागि चिनियाँ युआन प्रयोग गर्दै आएका छन् । डलर मात्रै थुपारेर राख्दा अमेरिकी नीतिको चपेटामा अर्थतन्त्र पर्ने हो कि भनेर कयौं दशेहरुले जोखिम विविधिकरण गर्न पनि डलर बाहेकका मुद्राहरु राख्न थालेका छन् ।
अमेरिका र यसका मित्र राष्ट्रहरुले रुसलाई स्वीफ्ट प्रयोग गर्नबाट रोक लगाएपछि अन्तरराष्ट्रिय व्यापारमा रुसको ढोका बन्द भएको छ । अमेरिकाले रुस केन्द्रीय बैंकको ६ खर्ब ३० अर्ब डलर बराबरको सञ्चिति पनि रोक्का गरेको छ । यस्तोमा रुसले पनि अब प्राकृतिक ग्याँस निर्यातको भुक्तानी आफ्नै मुद्रामा गर्नु पर्ने माग राखिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुबलमा ग्याँसको भुक्तानी नगरे आपूर्ति नै रोकि दिने चेतावनी दिँदै कार्यकारी आदेशमा नै हस्ताक्षर गरिसकेका छन् ।
उनको आदेशको अर्थ अब रुसी ग्यास किन्ने विदेशी क्रेताहरुले सरकारी बैंक ग्याजप्रोममा खाता खोलेर सो खातामा डलर वा यूरो पठाएर सो रकमलाई रुबलमा परिणत गरी भुक्तानी गर्नु पर्नेछ । केही रुस कानून निर्माताहरुले चीन, टर्की लगायत मित्र देशहरुबाट बिट्क्वाइनमा भुक्तानी स्वीकार गर्ने सुझाव पनि दिएका छन् ।
युक्रेनी द्वन्द्वको प्रभाव स्वरुप क्रिप्टोकरेन्सी स्टेबल क्वाइनको प्रयोग विश्वभर बढाउन सक्ने गोपिनाथको भनाइ छ । तर यसको लागि डिजिटल मुद्राको नियमन अभावलाई सम्बोधन गर्नु पर्ने चेतावनी उनले दिएकी छिन् । यसले पुन : यस्ता क्रिप्टोकरेनसीहरुको नियमनसम्बन्धी प्रश्न झनै टड्कारो बनाएको गोपिनाथको भनाइ छ । एजेन्सीको सहयोगमा