लिलामी शेयर किन्न अझै भौतिक उपस्थिति अनिवार्य

लिलामी शेयर किन्न अझै भौतिक उपस्थिति अनिवार्य

सम्बन्धित सामग्री

हाइपरफन्डको वास्तविकता

मानिसको सबैभन्दा ठूलो ध्येय धनी बन्नु हो । कुनै व्यक्तिले कतिसम्म धन कमाउन सक्ला यसको सीमा छैन । आचार्य चाणक्यले धनसहित आयु, कर्म, विद्या र मृत्यु यी पाँचओटा कुरा गर्भमै निश्चित भएको हुन्छ भनेका छन् । मनुले शरीरलाई कष्ट दिएर धन कमाउनु हुन्न भनेका छन् । ‘कि धन बाख्रापाठाबाट, कि धन लामो बाटोबाट, कि धन ससुराली पाटोबाट’ भन्ने लोकोक्ति छ । धन कमाउन गाह्रो छ भन्ने मनुको भनाइबाट पनि बुझिन्छ । तर, वर्तमान समयमा बसिबसी धन आर्जन हुन्छ भन्ने भ्रमलाई आत्मसात् गर्दा वित्तीय अपराध र ठगी बढ्दै जाँदा कयौंले भएको पनि गुमाएका छन् । इन्टरनेट सञ्जालबाट अनेक प्रलोभन देखाएर हुने ठगीको दर बढ्दो छ । यस्ता ठगीको मारमा परेर व्यक्तिले गुमाउने एउटा पाटो त छँदै छ, देशको रकम वा देशमा विदेशबाट भित्रिनुपर्ने विप्रेषणसमेत आउन बन्द भएको छ । श्रम प्रवेशाज्ञामा विदेश गएका नेपाली इन्टरनेट सञ्जालबाट हुने यस्तो ठगीमा बढी परेको अनुमान गर्न सकिन्छ । पछिल्लो समयमा ‘करेन्सी’ नाम जोडिएको ‘क्रिप्टो’ र पिरामिड प्रकृतिको हाइपरफन्डमा नेपालबाट धेरै रकम बाहिरिएको र विदेशबाट नेपालमा विप्रेषणमार्फत प्राप्त हुने रकम उतै लगानी (ठगि) भएर रोकिएको अनुमान गरिएको छ । हाइपरफन्डलगायत क्रिप्टो इन्टरनेटमार्फत संसारभर पुग्दा बैंक अफ इङल्यान्डले क्रिप्टो मूल्यविहीन हुनसक्ने चेतावनी दिएको छ । हाइपरफन्ड क्रिप्टोको कारोबारमा संलग्न भएको हुँदा यसको पनि भविष्य अन्धकारमय हुने कुरामा शंका छैन । लामो यात्राका यात्री युट्युबमा हाइपरफन्ड भनेर खोज्दा यसका संस्थापक भनिने रयान झुको बखान सबैभन्दा बढी भेटिन्छ । झुले सन् २०१३ मा संस्थापन गरेको भनिए पनि यी अगाडि देखिने व्यक्ति मात्र हुन् पछाडि अरू नै छन् भनिन्छ । स्थापना हुँदा यसको नाम ‘हाइपरटेक’ थियो र पछि ‘हाइपरफन्ड’ हुँदै अहिले ‘हाइपरभर्स’ मा आइपुगेको छ । नाम जेसुकै फेर्दै गए पनि यसको मुख्य धन्दा भने पर्दापछाडि रहेको र यसका संस्थापक भनिने झु ‘हात्तीको देखाउने दाँत’ मात्र हुन् । हाइपरफन्ड के हो के काम गर्छ भन्ने कुराको निश्चित नभए पनि यसले गरिरहेको कार्य हेर्दा यो नेटवर्किङ र मल्टीलेभल मार्केटिङभन्दा बढी केही देखिँदैन । यसले आफूलाई क्रिप्टोको अंग मानिने ‘ब्लकचेन’ को विज्ञ भने पनि त्यस्तो देखिँदैन । यसले उठाएको रकम कहाँ खर्च गर्छ वा केमा लगानी गर्छ त्यसको स्पष्ट उद्देश्य छैन । क्रिप्टो माइनिङ गर्छु भने पनि त्यस्तो होइन भन्ने आएको छ । यसले खडा गरेको नेटवर्किङ पनि पूर्णतः कानूनी छैन भन्ने पनि छ । यसको मुख्यालय कहाँ छ र इन्टरनेटबाट हुनेबाहेक भौतिक उपस्थिति कुनकुन देशमा छ भन्ने पनि स्पष्ट छैन । सामान्यतया व्यापारिक कम्पनीको वेबसाइट डट कममा डोमेन दर्ता हुने भए पनि यसको वेबसाइट डट नेटमा दर्ता छ । वेबसाइटमा कम्पनीको दर्ता तथा कर्पोरेट कार्यालय, संस्थापक, मुख्य व्यवस्थापक आदिका बारेमा केही उल्लेख छैन । वेबसाइट खोल्नेबित्तिकै गृहपृष्ठमा ‘जहाँ वास्तविकता समाप्त हुन्छ, त्यहाँ कल्पना शुरू हुन्छ’ (अंग्रेजीबाट गरिएको अनुवाद) भन्ने नारा (स्लोगान) देखिन्छ । यसले एबाउट असमा लेखेका कुरा पढ्दा कम्प्युटर गेम निर्माण कम्पनीको जस्तै काल्पनिक कुरा देखिन्छ । त्यसमा ‘हाइपरभर्स लाखौं ग्रहहकरू मिलेर बनेको भर्चुअल मेटाभर्स हो । यसमा सहभागीले साथीहरूसँग जोडिन, विभिन्न संस्कृति र जीवनशैलीको अनुभव गर्न, व्यवसाय शुरू गर्न र ब्रह्माण्डको अन्वेषण गर्न सक्छन्’ लेखिएको छ । यस्ता सहभागीलाई उसले ‘भोयजर’ अर्थात ‘लामो यात्राका यात्री’ भनेको छ । हाइपर र क्रिप्टो हाइपरफन्डलगायत क्रिप्टो इन्टरनेटमार्फत संसारभर पुग्दा बैंक अफ इङल्यान्डले क्रिप्टो मूल्यविहीन हुनसक्ने चेतावनी दिएको छ । हाइपरफन्ड क्रिप्टोको कारोबारमा संलग्न भएको हुँदा यसको पनि भविष्य अन्धकारमय हुने कुरामा शंका छैन । क्रिप्टो प्रतिबन्धित बन्दै जाने क्रममा टर्कीले कुनै पनि प्रकारको क्रिप्टोमाथि प्रतिबन्ध लगाइसकेको छ । नाममा ‘करेन्सी’ जोडे पनि यो वास्तविक मुद्रा भने होइन । यसलाई डिजिटल मुद्राको स्वरूप भनिए पनि यसलाई कुनै पनि देश र देशको केन्द्रीय बैंकले प्रत्याभूत गरेको छैन । एक देशमा समानान्तर अर्को मुद्रा चल्न सक्दैन । अचम्म के छ भने नाममा करेन्सी धारण गरे पनि यसलाई किन्न जमानती वा कानूनी मुद्रा (फियट करेन्सी) नै चाहिन्छ । अपवादको रूपमा कहिलेकाहीँ क्रिप्टोले क्रिप्टो किनेको भने हुनसक्छ । क्रिप्टो व्यक्ति व्यक्तिबीच हुने कारोबार हो । यो भौतिक अस्तित्व नभएको तरंग मात्र हो । प्राप्त गर्नेले अंक मात्र प्राप्त गर्छ । हुन त शेयर पनि भौतिक स्वरूपमा नभएर अंकमा देखिन थालेको छ । यसलाई देखाएर क्रिप्टो पनि त्यही हो भन्ने तर्क आउनसक्ला तर, यस्तो तर्कको कुनै अर्थ हुँदैन । शेयरलाई कम्पनीले प्रत्याभूत गरेको हुन्छ तर, क्रिप्टो कुनै पनि निकाय वा देशले प्रत्याभूत गरेको हुँदैन । क्रिप्टो नभनिकन क्रिप्टोकै कारोबार गरिरहेको हाइपरफन्डमा शुरूमा प्रवेश गर्नेले केही लाभ पाए पनि पछि प्रवेश गर्नेको लगानी सुरक्षा कसैले पनि गर्न सक्ने देखिँदैन । यसै सन्दर्भमा इङल्यान्डको ‘फाइनान्सियल कन्डक्ट अथोरिटी’ले यस (हाइपरफन्ड) ले इङल्यान्डमा वित्तीय विकेन्द्रीकरण (डिसेन्ट्रलाइज फाइनान्स) को नाममा अनुमतिविना वित्तीय सेवाका उत्पादन दिएको र यस्ता सेवा दिनका लागि दर्ता भएर अनुमतिपत्र प्राप्त गर्नुपर्ने हालसम्म हाइपरफन्डलगायत कुनै पनि दर्ता नभएको बताएको छ । त्यस्तै, लगानीकर्तालाई पनि चेतावनी दिँदै यस्ता अवैध क्षेत्रमा लगानी गरी हुने वा हुनसक्ने हानिनोक्सानीको जिम्मा लिन नसक्ने बताएको छ । भारत र नेपालमा क्रिप्टो कुनै पनि क्रिप्टोप्रति अनुदार देखिएको भारतले यसलाई शुरूदेखि नै रुचाएको थिएन र रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले प्रतिबन्ध लगाएको थियो । पछि सर्वोच्च अदालतले वस्तुसरह कारोबार गर्न अनुमति दिएको थियो । अहिले यसको कारोबार वस्तुसरह भइरहेको छ र सेक्युरिटिज एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) लाई कमोडिटीसरह नियमन गर्ने कानुन निर्माण गर्दै छ । पछिल्लो समयमा भारत सरकारले हाइपरफन्डलाइ पनि निगरानीमा राखेको छ । हाइपरफन्डको बारेमा उजुरी आउन थालेपछि आरबीआई, अर्थ मन्त्रालय र सेबी आदिले कुनै पनि क्रिप्टोको कारोबार नगर्न चेतावनी दिएको छ । अर्थ मन्त्रालयले भर्चुअल करेन्सी मुद्रा होइन र यसमा कानूनी शक्ति छैन भनेको छ । त्यस्तै, आरबीआईले पनि कुनै पनि निकायलाई यस्ता करेन्सी (भर्चुअल) को सञ्चालन वा लेनदेनको अनुमति नदिइएको बताएको छ । आरबीआईले आफ्नै आधिकारिक डिजिटल करेन्सी ‘ई–रुपैयाँ’ छिटै जारी गर्ने योजना बनाएको बताएको छ । भारतमा सन् २०१८ मा अमित भारद्वाज र विवेक भारद्वाज नामक दाजुभाइलाई बिटक्वाइन माइनिङ गरेको र ८ हजार व्यक्तिको २ अर्ब भारतीय रुपया ठगी गरेको आरोपमा पुने पुलिसले पक्राउ गरेको थियो । नेपालमा पनि हालै नेपाल राष्ट्र बैंकले भर्चुअल र क्रिप्टोकरेन्सीको कारोबार नगर्न तथा यससँग सम्बद्ध हाइपरफन्डजस्ता विभिन्न नामका नेटवर्क मार्केटिङमा आबद्ध नहुन ध्यानाकर्षण गराएको छ । यस्ता सबै प्रकारका कार्य गैरकानूनी भएको बताउँदै गैरकानूनी वित्तीय औजार भनेको छ । त्यस्तै, गृहमन्त्रालयले ‘गैरकानूनी आर्थिक क्रियाकलाप’ भन्दै क्रिप्टो र हाइपरमा सहभागी नहुन विज्ञप्ति प्रकाशन गरेको छ । इन्टरनेटबाट हुने यस्ता नेटवर्किङ गतिविधिमा संलग्न हुनेलाई कानूनी कारबाही गरिने बेहोरा उल्लेख गरेको छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

डिजिटल कारोबार र अनलाइन बैंकिङ

डिजिटल प्रविधिमा नेपालले गति लिँदै छ । कार्तिक महिनाको तथ्यांकमात्र हेर्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या डेढ करोडमाथि पुगिसकेको देखिन्छ । एटीएम कार्डको प्रयोगकर्ता कुल ९३ लाख माथि देखिन्छ, र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १२ लाख माथि रहेको देख्न सकिन्छ । देशमा धेरै भूभामा क्यूआर कोड र पीओस मेशिन देखिन्छ । हिजो जस्तो आज नगद नै बोकेर हिँड्नुपर्ने बाध्यता छैन । पेट्रोल पम्पदेखि पसलसम्म नगद कारोबारको विकल्प आइसकेको देखिन्छ । बैंकहरूले अलग्गै विभाग बनाएर डिजिटल यात्रालाई जसरी प्रवद्र्धन गरे त्यसले अर्थतन्त्र विस्तारमा पनि सहयोग पुर्‍याएको छ । बैंकबाहेकका क्षेत्रहरूमा पनि डिजिटल प्रविधिको बिगबिगी छ । एउटा दुर्गम भेगमा बसेर प्राथमिक शेयरमा भागेदार हुन सकिन्छ, दोस्रो बजारमा लगानी गर्न सकिन्छ । बीमासम्बन्धी सम्पूर्ण जानकारी र हिसाब बीमाको मोबाइल एप्लिकेशनमार्फत गर्न सकिन्छ । नागरिक लगानीकोषमा जम्मा भएको आफ्नो भागको हिसाब अनलाइन हेर्न सकिन्छ । यस परिवर्तनको निमित्त समग्र बैंक तथा वित्तीय संस्था एवम नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायको भूमिका सराहनीय छ । बैंकहरूले अलग्गै विभाग बनाएर डिजिटल यात्रालाई जसरी प्रवद्र्धन गरे त्यसले अर्थतन्त्र विस्तारमा पनि सहयोग पुर्‍याएको छ । दूर दराजको गाउँमा आज महँगो शुल्क तिरेर रिचार्ज कार्ड किन्नुभन्दा मोबाइल बैंकिङबाट टप अप गर्न थालिएको छ । आफ्नो खाताका बारे सामान्य जानकारी घरमै बसेर लिन सकिन्छ । प्लेनको टिकट किन्न कुनै बिचौलियाको प्रयोग गर्नु नपर्ने अवस्था आइसकेको छ । यी सबले गर्दा समग्र भुक्तानी प्रणाली आधुनिक बन्न थालेको छ । बेलायतमा २०२० मा ७६ प्रतिशतले अनलाइन बैंकिङ प्रयोग गरेको तथ्यांक देखिन्छ । स्ट्याटिस्टाको अध्ययनअनुसार सन् २०२४ सम्म एशियाली मुलुकहरूमा अनलाइन र मोबाइल बैंकिङको प्रयोग उच्च रहनेछ । सोही अध्ययनअनुसार हाल करीब विश्वको २ अर्ब जनसंख्याले अनलाइन बैंकिङ प्रयोग गरिरहेको छ । उक्त संख्या बढेर आगामी २०२४ सम्म साढे अर्ब पुग्नेछ । नेपालमा पनि यो गति उच्च छ । यसले नगदरहित कारोबारको सम्भावना बढेको छ । तर, बाहिर देखिएको तथ्यांकअनुरूप नेपाल यसका लागि अझै सक्षम भइसकेको छैन । बैंकिङ बानी परिवर्तन गर्नुपर्ने यस समयमा सानो समस्याले पनि आफ्नो नियमित बानी परिवर्तन गर्न आम सर्वसाधारणलाई हौसला चाहिन्छ । तर, प्राविधिक कठिनाइसँग जुध्न अझै नसकेको अवस्था छ । क्यूआरबाट भुक्तानी गर्दा पैसा काट्ने तर सम्बन्धितको खातामा नदेखिने समस्याले गर्दा डर त हुने नै भयो । त्यसै गरी सुरक्षा अर्को महत्त्वपूर्ण पक्ष हो । नेपालको अनलाइन बैंकिङ प्रणालीमा त्यस्तो घोटाला नभए तापनि सोझा सर्वसाधारण ठगिने काम भने भइरहेको छ । नातिले हजुरबुबाको मोबाइल बैंकिङ प्रयोग गरेर अनलाइन गेमको केही सुविधा खरीद गर्ने, गिरोहले खाताको रकम चोर्नेजस्ता सानातिना घटना भने भइरहेका छन् । प्राविधिक कठिनाइले गर्दा मर्कामा परेका ग्राहकहरू उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको देखिन्छ । एटीएमले खाताको रकम काट्ने तर भुक्तानी नदिने समस्याले धेरैलाई समस्यामा पारेको छ । अनलाइन रकमान्तर गर्ने क्रममा देखापर्ने प्राविधिक त्रुटिले गर्दा यसप्रति विश्वास घटेको पनि देखिन्छ । हामीले जतिसुकै डिजिटल प्रणालीको ब्याख्या गरे पनि आज पनि काठमाडौंमा खानेपानी महसुल भुक्तानी गर्न नगद लिएर काउन्टर नै पुग्नुपर्ने अवस्था छ । आज पनि विभिन्न जिल्लाबाट विद्युत् महसुल भुक्तानी गर्न घण्टांै हिँडेर सदरमुकाममा रहेको प्राधिकरणको कार्यालय नै पुग्नुपर्ने बाध्यता छ । अहिले पनि बसको टिकट काट्न अनलाइनभन्दा भौतिक माध्यम नै प्राथमिकतामा परेको देखिन्छ । यसले हाम्रो डिजिटल कारोबारको वास्तविकता झल्काउँछ । समयअनुरूप वित्तीयप्रणाली सुधार हुन आवश्यक छ । त्यसअनुरूपको आवश्यक परिवर्तन आत्मसात् गर्न पनि आवश्यक छ । शुरुआती क्रममा देखिएका त्रुटिहरूलाई क्रमिक रूपमा सुधार गरेर त्रुटिमुक्त सेवा प्रदान गर्दै जानु नै बिकास हो । ढड्डा प्रणालीबाट शुरू भएको बैंकिङ प्रणाली आज रोबोटयुक्त प्रणालीमा पुगिसकेको छ । विकास र परिवर्तन आवश्यक छ । तर, त्यसको निमित्त सबै पक्षको साथ आवश्यक पर्छ । वित्तीय समावेशिताको बहस अनलाइन बैंकिङमा पनि आउन आवश्यक छ । सवारीसाधनको बिल बुक अनलाइन भुक्तानीमार्फत नवीकरण गरिरहँदा किन उपत्यकाकै खानेपानी महसुल भुक्तानी गर्न भौतिक उपस्थिति चाहिने भन्नेबारे जवाफदेहिता बोक्न सक्ने क्षमता सम्बद्ध निकायको हुनुपर्छ । किन सुगम भेगकालाई विद्युत महसुल भुक्तानी गर्न अनलाइन माध्यम उपलब्ध छ र दुर्गम भेगलाई उक्त सुविधा छैन भन्ने जवाफ सम्बद्ध निकायसँग हुन आवश्यक छ । १० वर्ष अगाडि एटीममा रहेको समस्या अझै पनि छ । बैंक मात्र होइन, अझै पनि शेयरबजारमा हुने लीलामी प्रक्रिया अनलाइन मार्फत गर्न सकिँदैन, भौतिक उपस्थिति अनिवार्य रहिआएको छ । यदि हामी डिजिटल प्रणालीलाई स्वीकार गरी अगाडि बढ्ने हो भने हामीले गुनासोहरूलाई दृष्टिगत गरेर अगाडि बढ्न आवश्यक छ । सर्वप्रथम वित्तीय साक्षरता अभियानलाई प्रवद्र्धन गर्न आवश्यक छ, जसअन्तर्गत अनलाइन प्रविधिको प्रयोग बुझाउन महत्त्वपूर्ण हुन जान्छ । यससँग आबद्ध जोखिम र स्वाभाविक तरीकाले हुने समस्या र त्यसको निमित्त गर्न सकिने समाधानको बारेमा ज्ञान प्रवाह गर्न आवश्यक छ । जबसम्म सर्वसाधारणले उक्त विषयहरू स्पष्ट रूपमा बुझ्न सक्दैनन्, यसमा निहित जोखिम रही नै रहने हुन्छ । हो, हिजोभन्दा हामी अगाडि छौं तर हामीले लिनुपर्ने गति अझै पनि आत्मसात् गर्न सकेका छैनौं । समय अवश्य चाहिन्छ तर अन्य क्षेत्रमा भइसकेको सुधार, समग्र क्षेत्रमा भित्र्याउन समयभन्दा पनि बढी विचार चाहिन्छ, जसको निमित्त सबै पक्ष एकीकृत रूपमा प्रस्तुत हुन आवश्यक छ । त्यसपछि मात्र डिजिटल प्रणालीमा विश्वास जाग्नेछ, सहभागिता सुनिश्चित हुने छ र नगदरहित अर्थतन्त्रमा हामी फड्को मार्न सक्नेछौं । रेग्मी बैंकर हुन् ।