शे–फोक्सुण्डो क्षेत्र संरक्षणमा सहकार्य सफल, हेलिकाेप्टर उडानमा कडाइ

भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ । पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रबाट लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।