जेठ १८, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर आज (बुधवार) देखि लिलामीमा विक्री गर्ने भएको छ ।
कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गर्ने भएको हो ।
चैत १३ गतेसम्म कायम शेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद शेयर खरीदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँट गरिएको थियो ।
यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । खरीद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
जेठ २६ गतेसम्म इच्छुक खरीदकर्ताहरुले कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौं, मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र मुक्तिनाथ विकास बैंकको ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगञ्ज, नारायणगढ, सुर्खेत, नपालगञ्ज, धनगढी र जनकपुर शाखाबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।
कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । अवितरित हकप्रद शेयर समेत बाँडफाँट पश्चात् अपिको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको पुग्नेछ । अपिले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन अपिले हकप्रद निष्कासन गरेको हो ।