श्रावण पूर्णिमाका दिनलाई जनै र रक्षाबन्धन लगाउने भन्दै सीमित जातिको चाडपर्वका रूपमा लिन थालिएको छ । राजनीतिक नेतृत्वले यसैलाई लक्षित गरी शुभकामना दिएको पनि पाइन्छ । तर, वास्तविकता यस्तो छैन । नेपालमा मनाइने धेरैजसो चाडपर्व हिन्दूसँग जोडिने भए पनि मुलुकका सबैजसो जातजाति र जनजातिले मनाउने गरेको पाइन्छ । हो, त्यसको स्वरूप र शैलीमा भने फरक छ । जनैपूर्णिमा तागाधारीका लागि महत्त्वपूर्ण चाड त हुँदै हो, साथै मतवाली भनिने जातिहरूले पनि यसलाई धुमधामका साथ मनाउने गर्छन् । रक्षाबन्धन बाँधिदिने काम बाहुनको मात्रै भन्ने सोचिन्छ । तर, कतिपय धार्मिक स्थलमा लामाहरूले पनि रक्षाबन्धन बाँधिदिएको फोटो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पाइन्छ । नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध नबुझेकाहरूले मात्रै चाडपर्वलाई हिन्दू वा बाहुन क्षत्री अथवा जनजातिसँग जोड्ने हो । तर, जसले नेपाली संस्कृतिलाई राम्ररी विश्लेषण गर्न सक्छ त्यसले नेपालमा सबैजसो चाडपर्वमा गजबको एकता देख्छ ।
श्रावण पूर्णिमाकै दिन नेपालका विभिन्न नदी संगम वा मन्दिरहरूमा विभिन्न किसिमले मेला लाग्छ । त्यो मेलाको धार्मिक महत्त्व त छँदै छ तर त्योभन्दा पनि बढी त्यसको सांस्कृतिक महत्त्व छ । श्रावण पूर्णिमाका दिन कसैले जनै लगाउने, कसैले रक्षाबन्धन बाँध्ने, कसैले राखी लगाउने, कसैले क्वाँटी खाने, कसैले भान्जाभान्जी आदिलाई बोलाएर भोज खुवाउने आदि गरेर सबै जातिले कुनै न कुनै रूपमा मनाएको पाइन्छ । यही दिनलाई धामीझाँक्रीले पनि मनाउने गरेको पाइन्छ भने थारू जातिले पनि फरक तरीकाले मनाउने गरेको पाइन्छ । यसरी मुलकमा प्राय: सबैले मनाउने गरेको यो चाडलाई खास वर्गमा मात्रै सीमित गरी प्रचार गरिएको पाइन्छ । यसमा समाचार माध्यमले पनि कुरा नबुझी प्रचार गरेको पाइन्छ भने राजनीतिक दलहरूले पनि चाडपर्वको व्यापकता र त्यसको भित्री मर्म नबुझेर शुभकामना सन्देश दिने गरेको पाइन्छ ।
यसले नेपालीहरूमा सांस्कृतिक चेत हराउँदै गएको संकेत गर्छ । नेपालको संस्कृति जीवन्त संस्कृति हो । खासगरी अमूर्त संस्कृति सभ्यताको अभिन्न अंग हो । कुनै पनि जातिको सम्पन्नताको मापक उसको मूर्त र अमूर्त संस्कृतिलाई मानिन्छ । नेपाली संस्कृति जीवन र आनन्दसँग जोडिएको छ । यहाँको चाडपर्व, नाचगान सबैले यसलाई नै बुझाइरहेका छन् । तर, अहिले जसरी चाडपर्वलाई बुझ्न थालिएको छ र मनाउन थालिएको छ त्यसले जीवन्त संस्कृतिलाई पाषाणीकृत गर्दै लगेको छ । यस्तो संस्कृति जीवनसँग जोडिएको हुँदैन । त्यसैले यो जीवन्त हुँदैन । यूरोपमा अहिले मनाइने चाडपर्व जीवनको अभिन्न अंग बनेको छैन, प्रदर्शनीको माध्यममात्रै बनेको छ । अर्थात् त्यसलाई जनताले आफ्नो मौलिक जीवनशैली मानेको देखिँदैन ।
नेपालको संस्कृति पनि बिस्तारै यस्तै बन्न थालेको आभास हुन्छ । यसो भयो भने नेपालको मौलिकता नष्ट हुन थाल्छ । धेरैको बुझाइमा नेपालमा पर्यटक आउनुको कारण यहाँको प्राकृतिक सुन्दरता र भौगोलिक विविधता हो । तर, यो तथ्य आंशिक सत्य हो किनभने प्राकृतिक सुन्दरता र भौगोलिक विविधता नेपालमा भन्दा अन्य देशमा कम छैन । वास्तवमा नेपालमा पर्यटक आउनुको कारण नै यहाँको जीवन्त संस्कृति हो । मुस्कुराउने र जस्तोसुकै विपद्मा पनि हाँस्ने सक्ने नेपाली संस्कृतिले नै पर्यटकलाई लोभ्याएको हो भन्न सकिन्छ । हामीले संस्कृतिको यो पक्षलाई बिर्संदै जीवनसँग संस्कृतिलाई अलग पार्न थाल्यौं भने पर्यटक आगमनमा असर पार्ने निश्चित छ । जीवनशैली बनेको हाम्रो संस्कृति नै वास्तवमा आकर्षणको विषय हो । मूर्त र अमूर्त संस्कृति हेर्न र त्यसमा रमाउन नै पर्यटक लोभिएका हुन् भन्ने देखिएको छ । त्यसैले संस्कृतिको यो आयामलाई नेपालले जोगाउनुपर्ने देखिएको छ । यसले नै जातीय अनेकतालाई एकतामा जोडेर मुलुकलाई एक बनाउँछ । यो सांस्कृतिक वैभवलाई विगतका शासनसत्ताले त्यति चलाएको देखिँदैन तर अहिले भने यसमा विचलन आउन थालेको छ जसमा समाजशास्त्रीय दृष्टिकोणले व्याख्या गरिनुपर्छ र त्यसको आर्थिक पक्षबारे पनि सोचिनुपर्छ ।