असार ६, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार ओटा कम्पनीको संस्थापक शेयर आइतवारदेखि लिलामीमा आएको छ ।
बैंकको स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५५ हजार ५७० कित्ता, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ८६ हजार १९५ कित्ता र मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता संस्थापक हेयर असार ११ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।
नेशनल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता रू. ४४४, महुली लघुवित्तको प्रतिकित्ता रू. ७६८, आरएमडीसी लघुवित्तको प्रतिकित्ता रू. ४७७ र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता रू. ५७५ तोकिएको छ ।
ती कम्पनीहरुको शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा महुली लघुवित्त वित्तीय संस्थाको लागि न्यूनतम ५०० कित्ता र अन्य तीन कम्पनीको न्यूनतम १०० कित्तादेखि आवेदन दिन सकिनेछ । अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन् ।
यी कम्पनीहरुको शेयर बाँडफाँटमा पर्ने शेयरधनीहरुले कम्पनीहरुद्वारा असार ६ गतेपश्चात घोषणा हुने हकप्रद शेयर र लाभांश प्राप्त गर्नेसमेत कम्पनीले सूचना मार्फत बताएको छ । चार ओटै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।