काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले ‘नेपालमा लघु, घरेलु तथा साना उद्योग विकासका लागि कानूनी र प्रक्रियागत सुधार’ विषयमा नीतिगत संवाद आयोजना गरेको छ । महासंघले बुधवार काठमाडौंमा यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा उक्त नीतिगत संवाद आयोजना गरेको हो ।
संवाद मुख्यतया नीतिगत र प्रक्रियागत बाधाका तीन विशेष क्षेत्रहरू एकद्वार प्रणाली, नेपाली उत्पादनका लागि अनलाइन प्रदर्शनी केन्द्र र सार्वजनिक खरीदमा नेपाली उत्पादनलाई प्राथमिकतामा केन्द्रित रहेको महासंघले बताएको छ ।
संवादको पहिलो सत्र उद्यमहरूका लागि झन्झट र सञ्चालन लागत घटाउन एकद्वार सेवा केन्द्रको प्रावधानमा केन्द्रित थियो । सो अवसरमा उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले विभिन्न तहका सरकारलाई दिइएको संवैधानिक भूमिका र कार्यादेश अनुसार एकद्वार सेवा केन्द्रमा समेटिने सेवाहरू निर्धारण गर्नु महत्त्वपूर्ण रहेको बताए ।
दोस्रो सत्रमा नेपाली उद्यमीको बजार पहुँच अभिवृद्धि गर्न अनलाइन प्रदर्शनी केन्द्र प्रवर्द्धनको विषयमा छलफल भएको थियो । महासंघसँगको सहकार्य र संयुक्त प्रयासलाई बजारमा नेपाली उत्पादनको पहुँच बढाउने सम्भावित उपायमध्ये एक मानिएको छ । कार्यक्रममा पूर्व अर्थसचिव शिशिर ढुंगानाले स्थानीय उत्पादनमा समर्पित अनलाइन प्रदर्शनी केन्द्रको प्रावधानले उपभोक्तालाई नेपालमा बनेका उत्पादन र सेवा खोज्न सक्षम बनाउने बताए ।
संवादको तेस्रो सत्र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग बढाउने व्यवस्था कार्यान्वयनका चुनौतीबारे केन्द्रित थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक खरीदमा १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु खरीद गर्ने विद्यमान निर्देशिकामा थप परिमार्जन गर्नुपर्ने बताए ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नीति निर्माता, नीति कार्यान्वयनकर्ता र निजीक्षेत्रलाई एकै ठाउँमा ल्याएर छलफल गराउन नीति संवाद प्रभावकारी भएको बताए ।