आज काम विशेषले नयाँ बानेश्वर पुगेको थिएँ । घर फर्कदा राति भइसकेकाले पठाओ बुक गरें । बुक गरेको १ मिनेटमै नचिनेको ‘अननोन’ नम्बरबाट फोन आयो– नानी कहाँनिर हुनुहुन्छ ? त्यो फोन गर्ने व्यक्ति पठाओ चालक हुनुहुन्थ्यो । मैले आफू रहेको स्थान बताए । त्यसको ४–५ मिनेटमा पठाओ चालक त्यहाँ आइपुग्नुभयो ।
पठाओ चालक पाको उमेरको व्यक्ति हुनुहुन्थ्यो । यो कुरा पठाओ चालकलाई आफ्नो ठाउँको बारे जानकारी दिँदा नै मैले शंका गरिसकेको थिएँ । किनकि उहाँ (पठाओ चालक)ले मलाई ‘नानी’ भनेर सम्बोधन गर्नुभएको थियो । सँगै भएको साथीलाई पनि मैले त्यतिबेलै पठाओ चालक पाको मान्छे हुनुहुन्छ भनेको थिएँ ।
०००
पठाओ पुगेपछि गन्तव्यतिर लाग्यौं । मलाई उहाँसँग कुरा गर्न मन लाग्यो । र, सोधे– ‘बाबा’, कति बर्ष हुनुभयो ? उहाँ पाको उमेरको भएकाले मैले उहाँलाई ‘बाबा’ भनेर सम्बोधन गरेको थिएँ । उहाँले हास्दै भन्नुभयो– नानी, म ६३ वर्षको भएँ । मैले फेरि सोधें– ६३ वर्ष भइसक्दा पनि पठाओ चलाइरहनुभएको छ त रातिसम्म, हजुरको घरमा कोही छैन ?
उहाँले आफ्नो बेलिविस्तार लगाउनुभयो– नानी, मेरो नाम धनबहादुर श्रेष्ठ हो । मेरो घर धरान हो । अहिले काठमाडौंको कुनै स्कुलमा क्यान्टिन चलाउँछु । मेरो ४ जना छोराछोरी छन् । सबैको विवाह भइसक्यो । छोराहरू कलेज पढाउँछन् भने छोरीहरू क्यान्टिनमा सहयोग गर्छन् ।
श्रीमतीलाई ४ स्टेजको क्यान्सर छ । सकुन्जेल छोराछोरीको कमाइ लिन नपरोस् भन्ने हिसाबले पठाओ चलाइरहेको छु । अहिले मैले दिनको ३ हजार रुपैयाँ कमाउँछु । छोराहरूले देशको लागि केही गरुन् भन्ने मेरो इच्छा छ ।
उहाँको कुरा सुनेर खुसी हुने कि दुःखी ? ठम्याउनै सकिनँ । तर, मेरा आँखा रसाए । मैले मनमनै भगवानसँग उहाँको लामो आयु र सदैव स्वास्थ्य लाभको कामना गरें । यो पोस्ट उहाँको छोराहरूसम्म पुगे उहाँहरूसँग एउटा अनुरोध– कृपया, तपाईंहरूको बाबाको इच्छा पूरा गरिदिनु होला ।
०००
घर पुगियो । घर पुगेपछि उहाँलाई सँगै फोटो खिच्न आग्रह गरें । उहाँले मान्नुभयो । र, भन्नुभयो– मेरो कथाले कसैलाई प्रेरणा मिल्छ भने फोटो मात्रै हैन, फेसबुकमा पोस्ट राखे पनि हुन्छ । मलाई पनि लाग्यो– यो कथाले पक्कै पनि प्रेरणा मिल्नेछ !
– विन्दु थापा परियार
(सामाजिक सञ्जालकाे सामग्री सम्पादन गरिएको)