आइएमई जनरल इन्स्योरेन्सको २४औं साधारण सभा वैशाख ९ गते, ७.३७% लाभांश प्रस्ताव

चैत १७, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले २४औं वार्षिक साधारण सभा वैशाख ९ गते गर्ने भएको छ ।  कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा लैनचौर ब्यङ्क्वेट, काठमाडौंमा बिहान १० बजे गर्ने निर्णय गरेको हो ।  सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको अधिकृत पूँजी बढाएर २ अर्ब ५० करोड पुर्‍याउने विशेष प्रस्ताव उक्त सभाले पारित गर्नेछ ।  साथै, बोनस वितरण पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही बमोजिम कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, संशोधित प्रवन्धपत्र र नियमावलीमा फेरबदल गर्न नियामक निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।  साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा तथा लाभांश प्रयोजनका चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत २४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सम्बन्धित सामग्री