साउन २९, काठमाडौं । आइतवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ । एशियन लाइफ इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सले साधारण सभा गर्न लागेको हुन् ।
एशियन लाइफ इन्स्योरेन्सले आइतवार होटल क्लासिक सिमरा, बारामा बिहान ११:३० बजे सभा गर्ने जानकारी गराएको छ । सभाले कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको विद्यमान ७०:३० अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण शेयरमा परिणत गर्न प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै, कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ उपदफा १ (ग) ले निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ र संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने र एक जना स्वतन्त्र विज्ञ सञ्चालक मनोनित गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका साउन १७ गते बन्द भएको छ । साउन १३ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।
त्यसैगरी, यूनाइटेड इन्स्योरेन्स सभा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्त गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।