रसुवागढी नाकाबाट २२ ओटा विद्युतीय माइक्रोबस आयात

कात्तिक ११, रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ ओटा माइक्रोबस बुधवार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ । चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दशैंलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।  दशैंअगावै १०० विद्युतीय कार आयात भएका थिए भने पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालय टिमुरेले जानकारी दिएको छ । सहरी क्षेत्र केन्द्रित गरी आयात गरिएका माइक्रोबसका पांग्रा होचा भएका कारण कच्ची सडकमा गुडाएर काठमाडौं लान निकै चुनौती रहेको सवारी चालकले प्रतिक्रिया दिएका छन् ।  रसुवागढीदेखि गल्छीसम्मका अधिकांश सडकमा बढी खाल्डाखुल्डी भएकाले साना र होचा सवारी साधन सहजरूपले लैजान बढी असहज हुने गरेको बताइन्छ । दशैं अगाडि आयात भएका सानाखाले केही सवारी साधन भने मालधनी एवम् उसका प्रतिनिधि नपुग्दा भन्सार हातामा थन्किएका छन् । विद्युतीय सवारी साधनको आयातले प्रदूषणको न्यूनीकरण एवम् सहरी क्षेत्रमा वातावरणको स्वच्छता बढ्ने र पेट्रोलियम पदार्थबाट चल्ने यात्रुबाहक साधन क्रमिकरूपले हट्दै जाने बताइएको छ । सवारी साधनमा रहने ब्याट्री एक पटक चार्ज गरेपछि चार घण्टासम्म पुग्ने भएकाले बिना आवाज सहरी क्षेत्रको यात्रा अत्यन्तै सहज हुने जनाइएको छ । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म ९०० भन्दा बढी सानाठूला सवारी साधन आयात भएको भन्सार कार्यालयले जानकारी दिएको छ ।  आयात भएका सवारी साधनबाट नियमानुसार भन्सार शुल्कबापत रू. ६५ करोडभन्दा बढी राजस्वसमेत दाखिला भइसकेको भन्सार अधिकारीले बताएका छन् । रासस