अर्थतन्त्रका सबै सूचक नकारात्मक दिशातर्फ : युक्रेन–रसिया युद्धको प्रभाव देखिनै बाँकी

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ७ महीनामा अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ७ महीनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअुनसार अर्थतन्त्रका महत्वपूर्ण सूचकहरू नकारात्मक दिशातर्फ लम्किएका हुन् ।  चालू आवको ७ महीनामा ११ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा उक्त आयात ४२ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यस्तो आयात शून्य दशमलव शून्य १ प्रशितले मात्र वृद्धि भएको थियो ।  आयातमा आधारीत अर्थतन्त्र भएकाले त्यसको मारमा सर्वसाधारण पर्ने अर्थविद्हरूको भनाइ छ । समग्र अर्थतन्त्रका परिसूचकले देशको अर्थ व्यवस्था झनै खस्कंदै गएको देखाएको अर्थविद् डा. रेशम थापाले बताए । नेपालको अर्थ व्यवस्था आयातमा आधारीत भएकोले यसको प्रत्यक्ष मारमा सर्वसाधारण परेको उनको भनाइ छ । ‘७ महीनाको अर्थतन्त्रका सूचक हेर्दा सबै नकारात्मक देखिएका छन् । यसको प्रत्यक्ष प्रभाव आम जनतामा पर्ने छ । महँगी पनि गत वर्षकोभन्दा बढी नै देखियो । अहिलेको अर्थतन्त्रको सूचक हेर्दा आगामी दिनमा महँगी झनै चर्कने देखिन्छ ।’ उनले भने ।   राष्ट्र बैंककाअनुसार कुल विदेशी विनिमय सञ्चिति गत असार ससान्तसको तुलनामा चालू आवको माघ सम्ममा १६ दशमलव २ प्रतिशतले कमी आएको छ । असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकोमा माघमा ११ खर्ब ७३ अर्ब रुपैयाँ मात्रै छ । उक्त विदेशी विनिमय सञ्चितिले साढे सात महीना को वस्तु आयात र साढे ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने उल्लेख छ । तर, पछिल्लो एक महीनादेखि सुन, पेट्रोल र डलरको भाउ बढेकाले यो तथ्यांकमा देखाएजस्तो विदेशी विनिमय सञ्चिति नरहने अर्थविद्हरूको भनाइ छ । आयातमा आधारीत अर्थतन्त्रका कारण डलरको भाउ बढेको समयमा पनि नेपालले फाइदा लिन नसकेको थापाको भनाइ छ ।  त्यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तको तुलनामा १७ दशमलव ७ प्रतिशतले कमी आएको छ । असार मसान्तमा राष्ट्र बैंकमा १२ खर्ब ४४ अर्ब रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकोमा माघ मसान्तमा घटेर १० खर्ब २४ अर्ब कायम भएको छ ।  त्यसैगरी माघ मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब घाटामा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँ बचतमा थियो ।  त्यस्तै ७ महीनाको अवधिमा विप्रेषण (रेमिट्यान्स) आयमा पनि कमी आएको छ । गत वर्षको माघ महीनासम्मको तुलनामा चालू आवको सोही अवधिमा रेमिट्यान्स आय ४ दशमलव ९ प्रतिशतले कमी आई ५ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको छ । गत आवको सात महीनासम्म यस्तो आय १० दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । माघ महीनामा महँगी ५ दशमलव ९७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा महँगी २ दशमलव ७० प्रतिशत रहेको थियो ।  त्यस्तै फागुन महीनामा भएको युक्रेन–रसिया युद्धको प्रभाव नेपाली बजारमा देखिएको भएपनि राष्ट्र बैंकको यो तथ्यांकले अहिलेको महँगीलाई नदेखाएको कतिपयको भनाइ छ । अहिलेको तथ्यांक राष्ट्र बैंकले पहिले नै विश्लेषण गरेकोले बजारको यथार्थ महँगीको तथ्यांक आउनै बाँकी रहेको बजारका जानकार बताउँछन् ।