भूमि बैंकमा निक्षेप राखिएको जग्गाको सट्टा सरकारले शहरी योजनाबाट विकसित जग्गा फिर्ता दिने, यस्तो आउँदैछ शहरी विकास नीति

चैत २९, काठमाडौं। सरकारले भूमि बैंकमा जग्गा राख्नेलाई नजिकै विकास गरिएको शहरी वस्तीमा जग्गा दिने भएको छ। मंगलवार आयोजित राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्वन्धि परामर्श गोष्ठीमा उक्त जानकारी दिइएको हो । शहरी नीति - २०७८ मा सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । यस्ता छन् नीतिका केही महत्त्वपूर्ण बुँदा : सबैका लागि सुपथ आवास सुविधा प्रत्याभुत गर्नका लागि  मूल्य किफायत, भाडाको आवास, सहकारी आवास, संस्थागत आवास कार्यक्रम लागू गर्ने । जोखिमपूर्ण स्थानहरुमा जोखिमको स्तर अनुरुप वस्ती स्थानान्तरण, सीमित निर्माण, निर्माण निषेध आदि व्यवस्था  लागू गर्ने  । जलवायु परिवर्तनबाट हुने क्षतिलाई न्यूनिकरण गर्ने गरी शहरी विकासका  कार्यक्रमहरु सञ्चालन गर्ने । छरिएको तथा जोखिमपूर्ण  वस्तिलाई  सघन रुपमा अन्यत्र स्थानान्तरण गर्ने । शहरी  पूर्वाधार र आवास  विकासमा सहकारी क्षेत्रको स्रोत परिचालन गर्न कानून निर्माण गर्ने । घरजग्गाको व्यवसायिक कारोबारलाई उद्योग सरह दर्जा  दिई निजीक्षेत्रलाई प्रोत्साहन गर्ने  । संयुक्त आवास प्रणालीमा विद्यमान जटिलता हटाई सरलीकृत नियमन प्रणाली स्थापित  गर्ने । घरजग्गाको कारोबारलाई व्यवसायिक, पारदर्शी र प्रतिस्पर्धी बनाउन मौजूदा कानूनमा सुधार गर्ने । मर्मतको क्रममा विभिन्न निकायले पटक - पटक खन्न नपर्ने गरी सडक अधिकार क्षेत्रभित्र तर कालोपत्र भागमा नपर्ने गरी शहरी प्रणालीलाई  भूमिगत गर्ने । शहरी योजनाको लागि विभिन्न तहमा भूमि बैंक स्थापना गरी  सञ्चालनमा  ल्याउने र यस प्रयोजनका लागि निक्षेप स्वरुप राखिएको  जग्गाको साटो नजिकैको अन्य स्थानमा शहरी योजनाबाट विकसित जग्गा फिर्ता गर्न सकिने कानूनी व्यवस्था लागू गर्ने ।  शहरी योजनामा कम्तीमा चार महीनालाई पुग्ने खाद्य उर्जा तथा इन्धन भण्डारण पूर्वाधारको विकास गर्ने । शहरी विस्तार गर्दा कृषि,जल तथा वन क्षेत्रको संरक्षणमा जोड दिने । तहगत शहरी पूर्वाधार, जग्गा  विकास एवं भवन एकिकरण कार्य प्रदेश  एवं स्थानीय सरकारमा हस्तान्तरण गर्ने ।