सल्टिएन विश्वको सातौ ठूलो विद्युत् आयोजना 'ग्राण्ड इथियोपियन बाँध' को विवाद

माघ ९, काठमाडौं । नाइल नदीमा इथियोपियाले बनाउन लागेको बाँधको विषयमा इजिप्ट र सुडानसँग विवाद सल्टिएको छैन । अफ्रिकी संघको प्रायोजनमा सो विवाद सल्टयाउन शुरु गरिएको वार्ता विगत ९ महीनादेखि रोकिएको छ ।  सो बाँधमा निर्माण हुने जलविद्युत् आफ्नो विकासका लागि अत्यावश्यक रहेको इथियोपियाले बताउँदै आएको छ । तर बाँधका कारण आफ्नो देशमा पानीको आपूर्तिमा समस्या आउने इजिप्टको भनाइ छ । यो आफ्नो जलभण्डारका लागि खतरा रहेको तर्क पनि सुडानले दिँदै आएको छ ।  ग्राण्ड इथियोपियन रेनोसा ड्याम (जर्ड)ले नाइल नदीबाट लाभ हुने देशहरुलाई एकताबद्ध गर्नु पर्ने इथियोपियाले हालै बताएको छ । बाँधबाट हुने लाभ इजिप्ट र सुडानले यसको निर्माण प्रति व्यक्त गरेका चिन्ताभन्दा निकै धेरै हुने पनि उसको भनाइ छ । जर्डले क्षेत्रीय एकताको मोडलको रुपमा काम गर्नु पर्ने इथियोपियाका प्रधानमन्त्री आबी अहमलले हालै एक विज्ञप्तिमा भनेका छन् ।  जर्डसम्बन्धी छलफल र वार्तामा सम्भावित नकारात्मक कारकहरु बढी स्पष्ट बनाइएको भएपनि यसका लाभहरुले विरोधस्वरुप औंल्याइएका बेफाइदाहरुलाई उछिन्ने उनले बताएका छन् । यो इथियोपिया, इजिप्ट र सुडानको लागि एक अर्कालाई हानी नपुर्‍याइकन शान्ति निर्माण, सहकार्य, पारस्परिक सह–अस्तित्व र विकासको मलजल गर्ने समय भएको पनि विज्ञप्तिमा उनले भनेका छन् ।   यद्यपि, अहमदले इजिप्टको मुख्य चिन्तालाई भने सम्बोधन गरेका छैनन् । जर्डको बाँध भर्न करीब ५ देखि १२ वर्ष लाग्ने अनुमान गरिएको छ । यस अवधिमा इजिप्टमा नाइल नदीमा पानीको मात्रा घट्ने भन्दै गत वर्ष इथिप्टले उक्त परियोजना नष्ट गर्न सेना नै परिचालन गर्ने चेतावनी दिएको थियो । बाँधका कारण इजिप्टको कृषि क्षेत्रमा हजारौंको रोजगारी प्रभावित हुने र खाद्यान्न असुरक्षा पनि उत्पन्न हुन सक्ने बताइएको छ ।  तर परियोजनाले सुडानमा जल संकट निवारण गर्न मद्दत गर्ने यसको जलविद्युत् उत्पादनमा सुधार ल्याउने अहमदको तर्क छ । इजिप्टलाई पनि जल संरक्षणबाट लाभ मिल्ने उनको दाबी छ । सुडानमा जर्डले विनाशकारी बाढी र सुख्खाका बेलामा पानीको अभावको असरविरुद्ध पर्याप्त सुरक्षा दिने अहमदले औंल्याएका छन् । सुडानले नियमित रुपमा जल प्रवाह पाउने भएकोले त्यहाँको जल पूर्वाधार झनै राम्रो तवरले सञ्चालनमा मद्दत गर्ने पनि उनको तर्क छ ।  ‘अर्बौ क्युबिक बरारबको पानी बाफ बनेर वा बाढीको रुपमा समथरतिर बगेर खेर फाल्नु भन्दा जर्डबाट हुने जल संरक्षणबाट इजिप्टलाई पनि फाइदा हुनेछ,’ अहमदले भनेका छन् । प्रधानमन्त्रीका अनुसार उक्त परियोजनाले इथियोपियामा कृषि, उत्पादन र उद्योगमा आधारित आधुनिक अर्थतन्त्र सृजना हुनेछ । बाँधले ६ करोड मानिसहरुलाई जलविद्युतमा पहुँच दिने अपेक्षा गरिएको छ ।  इथियोपियामा बिजुलीको अभाव छ । यहाँको जनसंख्याको ५३ प्रतिशत अर्थात् झन्डै ६ करोड मानिसहरुमा बिजुलीको पहुँच छैन । ‘बिजुली बिना कुनै पनि देशले गरिबीलाई हराउन सकेका छैनन्,’ अहमदले भनेका छन् ।  निर्माण शुरु भएको ११ वर्ष भइसक्दा जर्डको करीब ८० प्रतिशत काम  पूरा भएको छ । यो परियोजना ब्लु नाइल नदीमा बनिरहेको छ । यो नाइल नदीको तीन सहायक नदीमध्ये एक हो । नाइलको ६० प्रतिशत पानी ब्लु नाइलबाट आउने गरेको छ । नाइल नदी अफ्रिकाका ९ देश भएर बग्छ । यो तान्जानियाबाट शुरु भएर इजिप्टमा मेरिडियन सागरमा आएर टुङ्गिन्छ । एजेन्सीको सहयोगमा