सुन्तला बेचेर एकै गाउँमा भित्रियो साढे ३ करोड, वार्षिक ५० लाखका दरले उत्पादन वृद्धि गर्ने लक्ष्य

गलकोट ।  बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर ३ करोड रूपैयाँ भित्राएका छन् । गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी रु ५० पर्न गएको छ । यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ । गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरण समेत हुँदै आएको छ । बागलुङ नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट ३ करोड रूपैयाँ भित्राउन सफल भएका हुन् । सहकारीले संकलन गरेको तथ्यांकअनुसार गत वर्ष सुन्तला बिक्रीबाट २ करोड ७५ लाख भित्राइएको थियो । यस वर्ष ३ करोड ५० लाखको सुन्तला बिक्री गर्ने लक्ष्य रहेपनि मूल्य वृद्धि नहुँदा करिब तीन करोडको मात्रै बिक्री भएको किसानले बताएका छन् । अहिले सहकारीले सुन्तला बिक्रीको तथ्यांक संकलन गरिरहेको सहकारीका सल्लाहकार एवं अगुवा सुन्तला किसान शिवकुमार खड्काले बताए । 'गत वर्ष तीन करोडको अनुमान गरिएकामा सबै तथ्यांक २ करोड ७५ लाख गाउँ भित्रिएको पाइयो', उनले  भने, 'अहिले गत वर्ष भन्दा केही बढी आम्दानी भएको छ ।' सिगाना गाउँको साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने खड्काले जानकारी दिए । 'सहकारीमा मात्रै आबद्ध एक सय ५० किसान सुन्तला खेतीमा छन्', उनले  भने, 'सहकारीमार्फत ४० हजार नयाँ बिरुवा अनुदानमा वितरण गरिरहेको थियो । अबको पाँच वर्षमा रु पाँच करोडको सुन्तला बिक्री गर्ने लक्ष्य रहेको छ ।' आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गरेका अनन्तबहादुर खड्काले यस वर्ष ५ लाख ५० हजारमा सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए । उनले  यस वर्ष सुन्तलाको उत्पादन बढेपनि मुल्य भने पोहरकै भएकाले आम्दानी पनि उस्तै भएको बताए । सिगानाका किसानले न्यूनतम २५ हजारदेखि अधिकतम ५ लाखसम्म सुन्तलाको बिक्री गर्दै आएका छन् । खड्काका अनुसार पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीले यहाँका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् । बगैँचा विस्तार र मलजलको उचित व्यवस्था भए सुन्तालाको उत्पादन राम्रो हुने उनको भनाइ थियो । यसवर्ष सुन्तलाको दाना राम्रो फलेको भन्दै किसान रामबहादुर खड्काले अधिकांश किसानले बोट नै ठेक्कामा दिएका बताए । उनका अनुसार नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक ५० लाखका दरले उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएका छन् । सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइराखेका छन् भने ४० हजारभन्दा बढी नयाँ बिरुवा हुर्किरहेका छन् । सुन्तला जोन क्षेत्रमा समेटिएको सिगानामा ६ वर्ष अघिदेखि व्यावसायिक सुन्तला खेती वृद्धिका लागि अन्य रुख फडानी गर्ने अभियान वडा कार्यालयले चलाएको थियो । अहिले प्रतिकिलो होलसेल मूल्य रु ५० देखि ६० का दरले बिक्री भइरहेको छ । सिगानाको बेसी, वडा कार्यालय क्षेत्र, बाँस्कोटलगायत स्थानमा अधिकांश जमिन सुन्तला खेतीले ढाकेको छ । सिगानासँगै बागलुङको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत स्थान सुन्तला खेतीका लागि उर्बर मानिन्छन् । जिल्लामा करिब ५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिए । उनका अनुसार समग्र जिल्लामा यस वर्ष रु २० करोडको सुन्तला उत्पादन भएको छ । रासस

सम्बन्धित सामग्री

सुन्तला बेचेर कृषकले कमाए ३० करोड रुपियाँ

तनहुँका कृषकले यस वर्ष सुन्तला बेचेर ३० करोड रुपियाँ आम्दानी गरेका छन् । सुन्तला खेती विस्तार र उत्पादन वृद्धि भएकाले गत वर्षभन्दा चार करोड रुपियाँले बढी सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताउनुभयो ।