भेरीगङ्गा (सुर्खेत) । ट्रकले ठक्कर दिँदा भारतमा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँचजनाको मृत्यु भएको छ ।
भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँचजना नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुर्खेत चौकुने–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने–७ का वडाअध्यक्ष धनिराम धमलाले बताए ।
अस्पतालमा उपचार गराइरहेका रतनका दाइलाई भेटेर फर्किने बेलामा उनीहरूले ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाले जानकारी दिए ।
उनीहरू एक वर्षदेखि रोजगारीका लागि भारतमा थिए । चौकुनेस्थित घरमा भने बूढा बुबाआमा मात्रै रहेको धमलाले बताए । घटनाको अनुसन्धानका लागि त्यहाँको प्रशासनसँग माग गरिएको त्यहाँ रहेका नेपालीलाई उदृत गर्दै वडाअध्यक्ष धमलाको भनाइ छ । रासस