बालागुरु षडानन्द पढ्नुभएको संस्कृत विद्यालय भत्कियो

महोत्तरीको मटिहानी नगरपालिका-७ स्थित नेपालकै जेठो संस्कृत माध्यमिक विद्यालयको भवन आज दिउँसो भत्किएको छ । बालागुरु षडानन्द पढ्नुभएको सो राजकीय संस्कृत माध्यमिक विद्यालयको ११० वर्ष पुरानो भवन आज दिउँसो भत्किएको हो ।    प्रधानाध्यापक ईश्वरी पौडेलका अनुसार सो आवासीय विद्यालयमा मुलुकको २७ जिल्लाका १५५ बटुक (विद्यार्थी) पढ्दै आएका छन् । छात्राबासका रुपमा प्रयोग हुँदै आएका आठ कोठामध्ये कोठा नं. १ को अचानक छतसमेत भत्किएको छ । बटुकहरु कक्षा कोठामा पढिरहेका बेला भवन भत्किएकाले मानवीय दुर्घटना हुनबाट जोगिएको उहाँको भनाइ छ । विसं १९६८ मा चुना, सुर्की, सख्खर, ईंट, बालुवालगायत सामग्रीको प्रयोगबाट बनेको सो भवनलाई मर्मतसम्भार गर्दै आएपनि छत चुहिने, पर्खालमा चिरा पर्ने, ठाउँ ठाउँमा चर्किनेजस्ता समस्या रहँदै आएको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।