द्रुत मार्गबाट काम गर

कोरोना भाइरसको संक्रमण तीव्र बन्दै जाँदा पछिल्लो २४ घण्टामा ७ हजार १३७ जनामा संक्रमण पुष्टि भएको छ जुन हालसम्मकै सर्वाधिक हो । दोस्रो लहरको प्रारम्भिक चरणमै यतिका धेरै संक्रमित हुँदा आगामी दिनमा संक्रमण निकै भयावह हुन संकेत देखिइसकेको छ । सम्भावित संकटबाट नागरिकलाई जोगाउन विज्ञहरूले विभिन्न चरणमा गर्नुपर्ने तयारीबारे सरकारलाई सुझाव दिने र सतर्क पार्ने काम गरिसकेका छन् । तर, सम्भावित संकटविरुद्ध लड्न द्रुतमार्गबाट तयारी थाल्नुपर्नेमा त्यसो हुन सकेको छैन । जहाँ शासकको व्यक्तिगत लहडमा काम भएको छ र प्रमाणित तथ्यभन्दा बाहिर गएर काम गरिएको छ त्यहाँ नै कोरोना भयावह समस्या बनेको छ अनि त्यही देशमा नै अत्यधिक जनताले ज्यान गुमाएको पनि देखिन्छ । कोरोना अहिले जसरी तीव्र दरमा बढिरहेको छ त्यसमा नागरिकहरूको लापर्बाही एक कारण त हुँदै हो तर त्यो भन्दा सरकारको नेतृत्वमा बस्नेहरूको आचरण र अभिव्यक्ति बढी दोषी देखिन्छ । सबैभन्दा बढी संक्रमित भएकै दिन लुम्बिनी प्रदेशमा नाटकीय राजनीतिक कदम चालियो । गण्डकीमा पनि यस्तै गरिएको थियो र अन्य प्रदेशमा पनि यही अवस्था देखिँदै छ । संघीय सरकारमा देखिएको विवाद प्रदेश सरकारसम्म फैलिएको छ । तर, देशमा आइपरेको अभूतपूर्व स्वास्थ्य संकटबारे सरकारहरूलाई कुनै चासो नभएको जस्तो देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै बेसार पानी र अम्बाको पातको उपदेश दिँदा कोरोनाबारे जनता भ्रमित हुनु स्वाभाविक हो । अहिलेको समयमा वैज्ञानिक, तथ्यपरक र प्रमाणित कुरामात्रै गर्नुपर्नेमा आफ्ना व्यक्तिगत विश्वासका कुरा जनतालाई सुनाउँदै गर्दा त्यसले आममानिसमा पर्ने असरबारे उच्च नेतृत्वले सोच्नसमेत नसकेको देखिन्छ । जुन देशमा वैज्ञानिक तथ्यलाई मानेर यसविरुद्ध अभियान चलाइयो त्यहाँ कोरोनाले खासै क्षति गरेको देखिँदैन । तर, जहाँ शासकको व्यक्तिगत लहडमा काम भएको छ र प्रमाणित तथ्यभन्दा बाहिर गएर काम गरिएको छ त्यहाँ नै कोरोना भयावह समस्या बनेको छ अनि त्यही देशमा नै अत्यधिक जनताले ज्यान गुमाएको पनि देखिन्छ । नेपालमा पनि जानेर वा नजानेर त्यस्तै खालको कामलाई प्रोत्साहन गरिएको छ । त्यसैले सरकारले विज्ञहरूका सल्लाहअनुसार तीव्र गतिमा आगामी संकटका विरुद्ध तयारी थालिहाल्नुपर्छ । दोस्रो लहर उच्च तहमा नपुग्दै सरकारी अस्पतालहरूमा शय्या अभाव भएको समाचार आइरहेको छ । त्यस्तै विभिन्न अभावका बीच स्वास्थ्यकर्मीले जोखिम लिएरै पनि उपचारमा खटिरहेको पनि देखिएको छ । सरकारले आवश्यक स्वास्थ्योपकरणको थप जोहो तीव्र गतिमा अघि बढाउनुका विकल्प देखिँदैन । यद्यपि एउटा सत्य के हो भने कोरोनाको पहिलो लहर आउँदा नेपालको तयारी शून्य थियो र अहिले त्यो अवस्थामा निकै सुधार आएको छ, अनुभव र आत्मविश्वास पनि निकै बढेको छ । स्वास्थ्य मन्त्रालयले नै जेठको अन्त र असार महीनाको शुरूतिर संक्रमण चरम विन्दुमा पुग्ने आकलन गरेको छ । दैनिक ११ हजारका दरले संक्रमित हुने अनुमान उसले गरेको छ जुन अहिलेको दर हेर्दा त्योभन्दा निकै बढी हुने सम्भावना देखिन्छ । त्यसैले उपचार केन्द्र, स्वास्थ्यकर्मी तथा आइसोलेशन केन्द्रहरू निकै नै थप्नुपर्ने देखिन्छ । अहिलेको प्रजाति निकै संक्रामक हुनुका साथै सीधै श्वासप्रश्वासमा असर पार्ने खालको भएको विज्ञहरूको भनाइ भएकाले भेन्टिलेटर, अक्सिजन, सिलिन्डर र उपचारका लागि प्रयोग गरिने औषधि आदिको भण्डारण गर्न ढिला गर्नु हुँदैन । द्रुतमार्गबाट यसो गर्न कानूनी अड्चन छ भने स्वास्थ्य संकट काल लगाएर पनि आवश्यक जोहो गर्न कुनै पनि हालतमा ढिला गर्नु हुँदैन । सरकारी अस्पताल कोभिड बिरामीको उपचारमा केन्द्रित हुँदा अरू रोगको बिरामीले उपचार नपाउने अवस्था पनि देखिन थालेको छ । तिनको पनि उपचार हेरचाह र उपचार गर्ने जिम्मेवारी छँदै छ । होटल एशोसिएशन नेपालले होटेलहरूलाई पनि आइसोलेशन बनाउन दिन तयार रहेको बताएको छ । विगतमा पनि यस्तो प्रस्ताव उसले गरेकै हो । तर, सरकारले यसतर्फ अहिले पनि ध्यान दिएको छैन । आइसोलेशन केन्द्रहरू थप्न भौतिक सामानको जोहो गरे पुग्छ । तर, त्यहाँ आवश्यक जनशक्तिको समस्या पनि छ । यसका लागि नर्सिङ र डाक्टरी पढिरहेका विद्यार्थीहरूलाई पनि परिचालन गर्न सकिन्छ ।