उद्योग परिसंघद्वारा केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत स्वास्थ्य क्षेत्रमा जोड दिएकोमा स्वागत

जेठ ५, काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले चालू आर्थिक  वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत स्वस्थ्य क्षेत्रमा जोड दिएकोमा स्वागत गरेको छ ।   केन्द्रीय बैंकले मंगलवार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत अहिलेको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा जोड दिनु सकारात्मक पक्ष भएको पनि उसले बताएको छ । साथै परिसंघले नयाँ प्रावधानले मुलुकको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने पनि दावी गरेको छ। केन्द्रीय बैंकले लिक्विड अक्सिजन प्लान्ट र अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगले आधार दर(बेस रेट)  मै ऋण पाउने व्यवस्था गरेको भन्दै परिसंघले सञ्चालनमा रहेका स्वास्थ सेवा प्रदायक, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापनाका लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लान्ट स्थापनाका लागि २० करोड रुपैयाँसम्मको कर्जालाई एक वर्षको विशेष पुनरकर्जा उपलब्ध गराउने निर्णय स्वागतयोग्य रहेको बताएको छ ।  बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने निर्णय पनि राम्रो पक्ष भएको उसले बताएको छ । परिसंघले निषेधाज्ञाको समयमा कर्जाको किस्ता तथा ब्याज भुक्तानी गर्ने ग्राहकलाई सहुलियत उपलब्ध गराउने व्यस्था पनि स्वागतयोग्य भएको भनेको छ ।  परिसंघले आफ्नो मागअनुसार नै बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत रकम अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र भ्याक्सिन खरीदमा खर्च गर्न पाउने भएको पनि उल्लेख गरेको छ ।  हालको परिप्रेक्षमा चालू आर्थिक वर्षको मौद्रिक नीतिले उद्योग व्यवसाय सञ्चालनमा उल्लेख्य भूमिका खेलेको भन्दै परिसंघले  मुलुकको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउदै रोजगारी सृजना गर्न, मुलुकको गार्हस्थ उत्पानलाई बढाउन तथा समग्र आर्थिक वृद्धिका लागि राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत मुलुकको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई थप सहुलियत तथा सुविधा उपलब्ध गराउनु पर्ने पनि माग गरेको छ ।