व्यापार विविधीकरणको नीतिअनुसार नेपालले बंगलादेशसँग पनि द्विपक्षीय व्यापार शुरू गरेको हो । ऊसँग बचतमा रहेको व्यापार अहिले कैयौं गुणा घाटामा जान थालेको छ । यसले नेपालको उत्पादन क्षमता कमजोर हुँदै गएको र निर्यात क्षमता गुमाउँदै गएको तथ्यलाई देखाउँछ । यसो हुनुमा एकातिर नेपालको आन्तरिक कमजोरी कारण देखिन्छ भने अर्कातर्फ बंगलादेशले नेपाली सामानको आयातमा बढी शुल्क लिनु पनि कारण देखिन्छ । कारण जे भए पनि सरकारले बंंगलादेशमा निर्यात हुन सक्ने वस्तु खोजी तिनको उत्पादन बढाएर निर्यात बढाउनुपर्ने देखिन्छ । किनकि दूरीलगायत विभिन्न कारणले बंगलादेश नेपालका लागि व्यापार गर्न सजिलो हुने मुलुकमा पर्छ ।
नेपालले बंगलादेशसँगको व्यापारमा बचत गर्न नसके पनि आयातकै हाराहारीमा निर्यात गर्न सक्ने हो भने पनि निकै लाभ हुन्छ । नेपालले टाकामा तिर्ने र उसले नेरूमा भुक्तानी गर्ने व्यवस्था मिलाउन सकिन्छ । यसो गर्दा दुवैको विदेशी विनिमय सञ्चितिमा दबाब पनि कम पर्छ ।
नेपाल–बंगलादेश व्यापारको २५ वर्षे अवधिमा कुनै बेला नेपालले १ अर्बभन्दा बढीको मुसुरो मात्रै निर्यात गरेको देखिन्छ । तर, जब मुसुरो निर्यात घट्न थाल्यो बंगलादेशसँगको व्यापारघाटा पनि बढ्न थाल्यो । उताबाट आउने वस्तुका प्रकार र परिमाण बढेको बढ्यै पाइन्छ भने यताबाट जाने वस्तु भने बढ्न सकेको छैन । मुसुरो निर्यातमा भने विवाद पाइन्छ । नेपालले तेस्रो मुलुकबाट आयात गरेर बंगलादेशमा निर्यात गरेको एकथरीको दाबी छ । त्यसैले अहिले यसको निर्यात विगतको दाँजोमा नाममात्रको भएको हो भनिन्छ । तर, अर्को तथ्य के पनि हो भने नेपालमा मुसुरोको उत्पादन घटेको छ । उत्पादन घटेपछि निर्यात घट्नु स्वाभाविक हो । त्यसैले नेपालले निर्यात सम्भावना भएका वस्तुहरूको उत्पादन र निर्यातमा जोड दिनु आवश्यक छ ।
बंगलादेश तीव्र गतिमा आर्थिक वृद्धिदर प्राप्त गरिरहेको देश हो । त्यहाँ नयाँनयाँ उद्योग खुलिरहेका छन् भने उसको उत्पादन र अर्थतन्त्रको आकार पनि निकै बढिरहेको छ । त्यसो हुँदा त्यताको सामान आयात बढी हुनु अन्यथा होइन । तर, नेपालले जसरी त्यताबाट सहज रूपमा सामान आउन दिइरहेको छ त्यसैगरी नेपाली उत्पादन त्यता जान भने सकेको छैन । गैरभन्सार शुल्क बढी भएकाले नेपाली कृषि उत्पादन निर्यात गर्न कठिन भएको भन्ने व्यवसायीको भनाइ छ । यसमा सरकारले बंगलादेशसँग स्पष्टसँग कुरा राख्न सक्नुपर्छ । १ सय ८ वस्तुलाई बंगलादेशमा भन्साररहित प्रवेश दिने र नेपालले ५० ओटा वस्तुलाई त्यस्तै सुविधा दिने विषयमा छलफल भए पनि निर्णय हुन सकेन । नेपालबाट अदुवा, अम्रिसो, जडीबुटीलगायत वस्तु बंगलादेशमा निर्यातको राम्रो सम्भावना छ । त्यस्तै कार्पेटको बजार पनि राम्रो देखिन्छ । यी वस्तु सहज रूपमा प्रवेश पाउने हो भने नेपालको निर्यात बढ्न सक्छ ।
अर्को, बंगलादेशलाई ऊर्जाको ठूलो आवश्यकता छ । उसले नेपालको जलविद्युत् खरीद गर्ने र यसमा लगानी गर्ने चाहनासमेत देखाएको छ । यस्तोमा नेपालले ठूलो परिमाणमा बिजुली निर्यात गर्न सक्यो भने व्यापारघाटा कम गर्न सहयोग मिल्ने देखिन्छ । त्यस्तै नेपालमा उत्पादन भइरहेका वस्तु उताबाट ल्याउँदा भन्सार लगाउन सकिन्छ । त्यसले यस्ता वस्तुको आयात कम हुन सक्छ ।
नेपालले बंगलादेशसँगको व्यापारमा बचत गर्न नसके पनि आयातकै हाराहारीमा निर्यात गर्न सक्ने हो भने पनि निकै लाभ हुन्छ । नेपालले टाकामा तिर्ने र उसले नेरूमा भुक्तानी गर्ने व्यवस्था मिलाउन सकिन्छ । यसो गर्दा दुवैको विदेशी विनिमय सञ्चितिमा दबाब पनि कम पर्छ । त्यसैले नेपालले बंगलादेशमा निर्यात हुन सक्ने वस्तुको उत्पादन बढी गर्नुपर्छ । त्यस्तै निर्यात सहजीकरणका लागि बंगलादेशसँग व्यापार सम्झौता गर्दा दुवै पक्षलाई समान रूपमा लाभ हुने खालको प्रावधान राखिनुपर्छ ।
निर्यात प्रोत्साहनका लागि सरकारले सहयोग नगरेको व्यवसायीको भनाइ छ । उल्टै निर्यातमा कर लगाएको आरोपसमेत छ । बंगलादेशले नेपालबाट आयात हुने वस्तुमा उच्च भन्सार कर लगाएको छ । त्यस्तै गैरभन्सार कर पनि छ । निर्यात सम्भावना भएका नेपालका वस्तुलाई उसले २५ प्रतिशतसम्म भन्सार लगाएको छ । यस्तो शुल्क हटाउन नेपालले पहल गर्नुपर्छ । दुवै देशले भन्सारमा समानता कायम गर्ने हो भने व्यापारमा सन्तुलन ल्याउन सहज हुन्छ । त्यसैले बंगलादेशमा निर्यात बढाउने कार्यमा ढिला गर्नु हुँदैन ।