टेकराज भुसाल\अर्घाखाँची ।।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको ढाकावाङ्गमा आज फागुन १० गते साँझ मसाल जुलुस निकालिएको छ ।
अखिल नेपाल युवक सङ्घ अर्घाखाँचीले आयोजना गरेको मसाल जुलुसमा सयौँ युवाहरूले सहभागिता जनाएका थिए ।
जुलुसमा सङ्घीयताको खारेज गर , संसद पुनर्स्थापना गर, प्रतिगमन मुर्दावाद, असंवैधानिक कदम खारेज गर, एमसिसी खारेज गर, भ्रष्टाचारको अन्त्य गर, बलात्कारीलाई कार्वाही गर, अखिल नेपाल युवक सङ्घ जिन्दवादजस्ता नाराहरू लगाइएको थियो ।
ढाकावाङ्ग हाटबजारदेखि सुरु भएको मसाल जुलुस पिपलनेटा बजारमा पुगेर कोणसभामा परिणत गरिएको थियो ।
सो सभामा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष कुलराज खनालले सम्बोधन गर्दै संसद विघटन बद्नियतपूर्वक गरिएको भन्दै पुनर्स्थापना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले संविधानको चीरहरण गर्दै गरिएको यो कार्य पूर्णतया असंवैधानिक भएको भन्दै कानुनी राज्यको खिल्ली उडाएकोमा आपत्ति प्रकट गर्दै असंवैधानिक कदम र प्रतिगमनका विरुद्ध सम्पूर्ण युवाहरू एक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम अखिल नेपाल युवक सङ्घका जिल्ला सचिव ठाकुर पन्थीको सञ्चालन सम्पन्न भएको थियो ।