घडेरी खन्दाको विवादले एक वर्षदेखि रोकिएको फलेवास नगर अस्पतालको निर्माण अघि बढ्यो

पर्वत । पर्वत (Parbat)को फलेवास नगरपालिकामा अलपत्र अवस्थामा रहेको नगर अस्पताल (Hospital) निर्माणको काम अगाडि बढेको छ ।  एक स्थानीय तह एक आधारभुत अस्पताल कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको नगर अस्पतालको काम एक वर्षदेखि अलपत्र थियो ।  विवादका कारण घडेरी खनेर अलपत्र अवस्थामा रहेको नगर अस्पतालको निर्माण कार्य सर्वपक्षीय छलफलपछि बाँकी रहेको काम अगाडि बढाउने सहमति भएको हो । घडेरी खन्ने क्रममा त्रुटि भएको भने स्थानीयले विरोध गरेपछि निर्माणको काम बीचमै रोकिएको थियो ।  उक्त अस्पताल फलेवास नगरपालिका–६, देवीस्थानमा निर्माण गर्न थालिएको हो । साविकको स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने तथा भवन बनाउने गरी आर्थिक वर्ष २०७७/०७८ मा बोलपत्र आह्वान भई २०७८ असार ३१ मा सम्झौता भएको थियो । भवन बनेपछि यहाँ १४ शय्या रहने जनाइएको छ ।  निर्माण व्यवसायी प्रतिष्ठा–जुम्ली–आचार्य जे.भी. बागलुङले निर्माणस्थल परिवर्तनसँगै संशोधित भएको आर्किटेक्चरल, स्ट्रक्चरल, स्यानिटरी, इलेक्ट्रिकल डिजाइनबमोजिम सम्झौता गरेको थियो ।  उक्त अस्पतालमा सम्झौता बमोजिमका सामग्रीमा परिमाणमा थपघट, माटो कटिङ लगायतका प्रक्रियाका कारण निर्माण कार्य करिव २ वर्ष अघिदेखि रोकिएको थियो । नगर अस्पताल निर्माणका लागि नेपाल सरकारले रु. १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको थियो ।  अस्पताल भवनको डीपीआर स्वीकृत नभई निर्माण गर्दैगर्दा भवन निर्माणस्थल परिवर्तन भएको र परिवर्तित निर्माण स्थलबमोजिम नक्सा संशोधन गर्न लगाई प्रक्रिया अघि बढाइएको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए । ‘धेरै लामो प्रयासपछि विवाद मिल्यो,’ तिवारीले भने, ‘निर्माण व्यवसायीलाई काम अगाडि बढाउन नगर कार्यपालिकाले आदेश दिइसकेको छ ।’  प्रस्तावबमोजिम आगामी नगरसभाबाट अनुमोदन गर्नेगरी स्वीकृत गर्ने साथै थप म्यादभित्र भेरिएसन आदेशबमोजिम निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई संशोधित कार्यादेश दिन फलेवास नगरपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको नगरप्रमुख तिवारीले जानकारी दिए ।  अलपत्र अवस्थामा रहेको अस्पताल बनेपछि स्थानीय बासिन्दालाई सामान्य उपचारका लागि पनि सदरमुकाम कुश्मा, पोखरा तथा बागलुङ पुग्नुपर्ने बाध्यता हट्ने तिवारीले बताए ।