खुदोबाट आर्थिक समृद्धिको प्रयास

गण्डकी । पुस १५ होस् वा माघे संक्रान्ति पोखरा र आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ । यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि खुदोका लागि आफ्नो विशिष्ट पहिचान बनाएको पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र ढोडबेसीमा अहिले पनि उत्तिकै उखुखेती गरी खुदो उत्पादन गरिन्छ । मालेपाटन ढोडबेसी क्षेत्रमा दुई सय वर्षदेखि उखुखेती र खुदो उत्पादन गर्ने चलन रहेको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले जानकारी दिए । ‘खुदो यस क्षेत्रको विशिष्ट पहिचान हो, यसको व्यावसायिक खेतीतर्फ स्थानीयवासी आकर्षित छन्,’ उनले भने, ‘दुई सय वर्षदेखिको उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै यसलाई अझै व्यावसायिक बनाउनेतर्फ हामीले जोड दिएका छौं ।’ सामान्यतः पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपास क्षेत्रमा खुदोको कारोबार हुने गर्छ । स्थानीय चलनअनुसार पुस १५ मा लटे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे संक्रान्तिमा खुदो चिउरा खाने चलनले पनि सो अवधिमा यसको खोजी हुने गर्छ । कोलमा पेलेर निकालेको उखुको रस पकाएपछि खुदो बन्छ । परापूर्वकालमा काठे कोलमा पेल्ने उखु एक दशक अघिसम्म गोरुले घुमाउने फलामको कोलमा पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विद्युतीय कोलमा पेल्ने गरेको पौडेलले जानकारी दिए । कास्की र आसपासका धेरै स्थानमा उखुखेती लोप हुन लागेको बेला यहाँका स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन् । व्यावसायिकताको प्रयाससँगै संगठित बनेका स्थानीयले २०६७ सालमा मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरेका छन् । सहकारीबाट खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालन लगायतमा लगानी हुँदै आएको छ । मालेपाटन र ढोडबेसी क्षेत्रमा विगतमा ७० लाखदेखि १ करोड रुपैयाँसम्मको खुदो किनबेच हुने गरेको थियो । पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदै गएको छ । मालेपाटन ढोडबेसी क्षेत्रमा करीब ९० परिवारले दुई सय रोपनीमा उखुखेती गर्दै आएका छन् । कोलमा पेलेर निकालेको उखुको रसलाई घण्टौं पकाएपछि खुदो तयार हुन्छ । दाइँमा जस्तै गोरुले घुमाउने कोललाई २०५७ सालदेखि नयाँ प्रविधि प्रयोग गरी मेशिनले घुमाउन थालिएको छ । पकाउने कामलाई पनि व्यवस्थित बनाइएको कृषक रामप्रसाद ढकालले जानकारी दिए । पहिचान जोगाउन ब्रान्डिङ मालेपाटन ढोडबेसीको खुदो भन्दै बजारमा अन्यत्रबाट ल्याइएको खुदो बेच्ने क्रम बढेसँगै अघिल्लो वर्षदेखि यसलाई ब्रान्डिङ गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेसीको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटरको बोतलमा गत वर्ष नै बजारमा लगिएको थियो । यस वर्ष पनि एक हजार बोतल प्याकेजिङ गरिएको सहकारीका अध्यक्ष पौडेलले जानकारी दिए । यस वर्ष प्याकेजिङ गरिएकोमध्ये पाँच सय बोतल विक्री भइसकेको जानकारी दिँदै उनले यस वर्ष पनि तराईतिरबाट ल्याइएको खुदो मालेपाटन र ढोडबेसीको भन्दै ठाउँ–ठाउँमा विक्री हुने गरेको पाइएको बताए । गुणस्तर परीक्षणसहित सिलबन्दी खुदोको खुद्रा मूल्य प्रतिलिटर ३ सय ५० रुपैयाँ तोकिएको छ । १० लिटरभन्दा बढी लैजानेका लागि प्रतिलिटर ३ सय २५ लिने गरिएको छ । सहकारीका अलावा स्थानीयले घर–घरबाट पनि खुदोको व्यापार गर्दै आएका छन् । महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले मालेपाटन र ढोडबेसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्रान्डिङ तथा प्रवद्र्धनमा महानगरपालिकाले सहयोग गरेको बताए । महानगरपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा वडा नं ३२ मा उखुखेतीमा जोड दिने कडरियाले जानकारी दिए । विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकामा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन् । उखुमा लाग्ने ढुसीजन्य रोगले उत्पादनमा कमी आएको स्थानीयको गुनासो छ । यस वर्ष वर्षातको समयमा उखु ढलेपछि चिन्तित बनेका किसानलाई कृषि ज्ञान केन्द्रले औषधि छर्ने स्प्रे उपलब्ध गराएको थियो । औषधि छरेसँगै क्षतिमा कमी आएको थियो । रासस