जलवायु अनुकूलन कार्यका लागि ३१ अर्ब ९२ करोड सहयोग घोषणा

नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको छ । बुधबार यहाँ सम्पन्न संयुक्त आयोगको बैठकमा हरित पुनरुत्थान कार्यक्रमअन्तर्गत युरोप समूह प्रयास (टिम युरोप इनिसिएटभ)मार्फत फिनल्यान्ड, फ्रान्स र जर्मनीले उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । यद्यपि उक्त सहयोगको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । हालै स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने दिशामा मद्दत गर्न तथा नेपाललाई सन् २०४५ सम्ममा शून्य कार्बनको स्थितिमा पुर्‍याउने महत्वाकाङ्क्षी दीर्घकालीन रणनीति कार्यान्वयनमा उक्त रकम उपयोग हुने बैठकमा सहभागी वन तथा वातावरण मन्त्रालयका एक अधिकारीले राससलाई बताए ।