बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज बैशाख ११ गतेबाट पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड मूल्यका १० लाख कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्बको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागिएको जनाएको छ । १० लाखमध्ये ७ लाख कित्ता सेयर आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ५, ६ र ७ तथा कास्कीको मादी गाउँपालिकाको वडा नम्बर ८ र ९ का स्थानीय बासिन्दाहरुका लागि छुट्टाइएको छ ।बाँकी ३ लाख कित्ता सेयर लमजुङको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानीयका लागि छुट्याईएको छ । यस आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले बैशाख २५ गते गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा वा माग अनुसारको आवेदन नपरेको खण्डमा जेठ ९ गतेसम्म आईपीओको बिक्री खुला रहनेछ ।स्थानीयले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । स्थानीयबासिले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा र सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की र बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा र बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।