काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा देखिएको अन्योलबारे अर्थ मन्त्रालयमा छलफल भएको छ । उक्त आयोजनाबारे खानेपानीमन्त्री महिन्द्रराय यादव र स्थानीय प्रतिनिधिहरूसँग अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार छलफल गरेका हुन् ।
सो आयोजनाबाट पानी आपूर्ति तथा वितरण नियमित बनाउन बजेटको अभाव हुन नदिने भन्दै अर्थमन्त्री महतले यथाशीघ्र काम अघि बढाउन आग्रह गरेका छन् । छलफलपछि खानेपानीमन्त्री यादवले काठमाडौंवासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाइने बताए । मेलम्चीको पानी काठमाडौं ल्याउने काममा देखिएको समस्या समाधान गरेर अघि बढ्ने उनको भनाइ छ ।
‘मेलम्चीको खानेपानी नियमित गर्ने विषयमा अर्थ मन्त्रालयसँग भएको छलफल सकारात्मक छ,’ उनले भने, ‘खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, उपभोक्ता, वितरकलगायत सरोकारवालासहित पुन: छलफल गरेर पानी ल्याउने प्रक्रिया अघि बढाउँछौं, जतिसक्दो चाँडो काठमाडौंका जनतालाई पानी खुवाउँछौं ।’
यता, काठमाडौंवासीले भने एक हप्ताभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ताभित्र पनि सो पानी काठमाडौं ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उपभोक्ता तथा सरोकारवालाको चेतावनी छ ।
कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा मेलम्चीको पानी एक हप्ताभित्र काठमाडौं आउने गरी बजेटको व्यवस्था गर्न आग्रह गरिएको बताए । गौतमका अनुसार हेलम्बुका स्थानीयले माग गरेको ११ करोड ५० लाख ६६ हजार रुपैयाँ सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ ।
‘सरकारले चाह्यो भने यो पानी आउन एक हप्ता पनि लाग्दैन, हामी अर्थ मन्त्रालय र खानेपानी मन्त्रालय धाइरहेका छौं, स्थानीय तहमा केही समस्या छन्,’ उनले भने, ‘स्थानीयले माग गरेको रकम राज्यले तुरुन्त निकासा गरिदिनुपर्छ र काठमाडौंवासीलाई पानी खुवाउनुपर्छ ।’
यसैबीच, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौं ल्याउने विषयमा हेलम्बुका स्थानीयले कुनै पनि अवरोध नगरेको बताएका छन् । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौता अनुसारको बजेट भने सरकारले तत्काल उपलब्ध गराउनुपर्नेमा जोड दिए । सरकारले यसअघि स्थानीयसँग गरेका सम्झौता पूरा नगरेको भन्दै उनले सरकारको आलोचना समेत गरे ।