अमेरिका । रिपब्लिकन सांसदहरूले नै विपक्षमा मतदान गरेपछि अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख केभिन म्याकार्थी पदमुक्त भएका छन् । अमेरिकी इतिहासमा नै पहिलोपटक सभामुखलाई यसरी हटाइएको हो ।
सदनमा भएको अन्तिम मतदानमा उनको पक्षमा २१० जनाले मतदान गर्दा २१६ जनाले उनको विपक्षमा मतदान गरेका थिए । केभिनको विपक्षमा रिपब्लिकन सांसदहरूले नै मतदान गरेका हुन् । आठ जना सांसदहरूले उनको विपक्षमा मतदान गरेका थिए । म्याककार्थीले आफ्नो पार्टीका सदस्यहरूसँगको असहमतिलाई लिएर नपछुताउने बताएका छन् ।
मतदानपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सभामुखको लागि फेरि उम्मेदवार नहुने समेत घोषणा गरे । ‘म गर्व, उपलब्धि र आशावादी भावनाका साथ सभामुखको पद छोड्दैछु,’ उनले भने, ‘म फेरि सभामुखको लागि उम्मेदवार हुने छैन ।’ एजेन्सी