विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले ध्वनि नियन्त्रणको तयारी शुरू गरेको छ । केही दिनअघि विराटनगरस्थित धार्मिक र नागरिक समाजका अगुवालाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणको विषयमा महानगरले सुझाव मागेको छ । अन्तरक्रियामा सहभागीहरूले महानगरले शुरू गरेको अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले ध्वनि प्रदूषणले मुटुका रोगी, ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई बढी असर परेकाले नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।
छोयलिङ बौद्ध गुम्बा रानीका कोषाध्यक्ष अनुपकुमार स्याङ्बोले पछिल्लो समय महानगरपालिकाले जनआकांक्षाअनुसारका कार्य गरेको भन्दै प्रशंसा गरे । ध्वनि प्रदूषण नियन्त्रण अति नै आवश्यक रहेको उनले बताए । यस्तै इसाई समाज विराटनगरका अध्यक्ष सुरज मल्लले ध्वनि प्रदूषण नहुनेगरी धार्मिक कार्यक्रम गरिनु पर्ने बताए । ओशो ध्यान केन्द्रका संयोजक दिलीपकुमार मण्डलले महानगरले सान्दर्भिक विषयमा छलफल चलाएको बताए । उनले डिजेमा प्रतिबन्ध लगाउन सुझाव दिए ।
अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले विराटनगरलाई सुव्यवस्थित, संस्कारयुक्त र अनुशासित शहर बनाउने अभियानअन्तर्गत ध्वनि प्रदूषण कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको बताए । एउटै छलफलबाट निष्कर्षमा पुग्नुभन्दा फेरि अर्को छलफल गरेर सबैको राय लिएर निष्कर्षमा पुग्ने उनले स्पष्ट पारे । धार्मिक क्षेत्रमा लागेका अगुवा, नागरिक समाज र बुद्धिजीवीको धारणा लिएर महानगरले ध्वनि प्रदूषण नियन्त्रणको निर्णय गर्ने जानकारी उनले दिए ।