नेपाली गलैँचाको विकास तथा निर्यात प्रवर्द्धनका लागि प्रभावकारी नीति ल्याउन केन्द्रीय गलैँचा उद्योग संघले सरकारसँग माग गरेको छ । संघले वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझासमक्ष गलैँचा उद्योगको विकासका लागि विभिन्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । नेपाली गलैँचाको खस्कँदो निर्यातलाई ध्यानमा राखी यो उद्योगको प्रवर्द्धन र निर्यात अभिवृद्धिमा सहयोग पुग्ने गरी स्पष्ट नीतिको आवश्यकता भएकाले सरकारसँग माग राखिएको संघका कार्यकारी सचिव गिरिराज ज्ञवालीले अभियानलाई बताए । संघले नेपाली गलैँचाको दिगो विकास, संरक्षण र स्थायित्वका लागि सरकार र निजीक्षेत्रको संयुक्त लगानी विकल्प हुन सक्ने भएकाले यस सम्बन्धमा उपयुक्त वातावरण सृजना गर्नसमेत माग गरेको छ । संघले हालै तयार गरेको एक अध्ययन प्रतिवेदनलाई नयाँ नीतिको आधार बनाउन पनि सुझाव दिएको छ ।
अन्तरराष्ट्रिय बजारमा नेपाली गलैँचा लोकप्रिय हुनुका साथै यसको छुट्टै पहिचान पनि भएको भन्दै गलैँचासम्बन्धी कारोबार गर्ने अमेरिकी कम्पनी लेबल स्टेपका निर्देशक म्याग्डनेला स्ट्राइनरले संघलाई एक अध्ययन प्रतिवेदन बुझाएका छन् । हाल नेपालमा रहेका स्ट्राइनरले नेपाली गलैँचाको विकासका लागि स्पष्ट नीति आवश्यक भएकाले पहल गर्न संघलाई सातबुँदे प्रतिवेदन बुझाएका हुन् ।
‘हामीले लेबल स्टेपको प्रतिवेदनमा आवश्यक परिमार्जन तथा विषयवस्तु थप गरी सरकारलाई बुझाएका छौं,’ ज्ञवालीले भने ।
वर्ष ६, अंक ३०, बिहीवार, २१ असोज २०६७