नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिडी हाइड्रोपावरको शेयर सुचिकृत भएको छ । रिडी हाइड्रोले रैराङ हाइड्रोपावर कम्पनीलाई गाभेपछि बनेको रिडी हाइड्रो कम्पनीको १ करोड १० लाख ६३ हजार ५ सय ८० कित्ता शेयर सुचिकृत भएको हो।नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७०८.६० रुपैयाँको सुरुवाती मूल्य तय गरेको छ । कम्पनीको RIDI सिम्बलबाट कारोबार हुने छ । रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई गाभेपछि रिडी पावर लिमिटेडबाट गत असार ३१ गतेदेखि एकिकृत कारोबार सुरु गरेका थिए । दुवै कम्पनीको असार १७ गते शुक्रबार सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए । विद्युत नियमन आयोग र कम्पनी रजिष्ट्रार कार्यालयले असार ३० गते अन्तिम स्वीकृति प्रदान गरेपछि असार ३१ गते बाट एकिकृत कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ। कम्पनीको रजिष्टर्ड कार्यालय ट्रेड टावर थापाथलीमा रहेको छ । रिडी हाइड्रोले रैराङ हाइड्रोलाई गाभेर रिडी हाइड्रो बनेको हो । १००: ९३ को स्वापमा मर्ज भएका हुन्। अर्थात् हाल १०० कित्ता शेयर हुने रैराङ हाइड्रोका लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीको ९३ कित्ता शेयर पाउने छन् । बिद्युत नियमन आयोगको बैशाख १९ गतेको बैठकले दुवै हाइड्रोपावर कम्पनीलाई एक आपसमा गाभिनलाई अनुमति दिएको थियो। दुवै कम्पनीले गत कात्तिक १७, २०७८ मा एक आपसमा गाभ्ने गाभिनेबारे सहमति गरेका थिए।मर्जरमा जाने निर्णयका कारण दुवै हाइड्रोको सेयर कारोबार दोस्रो बजारमा रोकिएको छ। अन्तिम कारोबार मितिमा रैरांगको सेयर प्रति कित्ता ५६३ रुपैयाँ १० पैसामा कारोबार भएको थियो भने रिडीको ८३८ रुपैयाँमा कारोबार भएको थियो। अब दुवै कम्पनी एक भएपछि रिडीको नाममा ७०८.६० रुपैयाँबाट कारोबार सुरु हुने छ ।