धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको  शेयर कारोबार भोलिदेखि १५ दिन रोक्का रहने

काठमाडौं । मर्जरमा गएका धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भोलिदेखि १५ दिन रोक्का रहने भएको छ । यी दुई कम्पनी मर्ज भएर ‘धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट असार २० गतेदेखि एकीकृत कारोबार हुँदैछ । सोही कारण दुई कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार भोलिदेखि रोक्का रहने भएको हो ।  दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरेका थिए । गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले जेठ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।    

सम्बन्धित सामग्री

असारमा एक दर्जन कम्पनीले गरे एकीकृत कारोबार

काठमाडौं । असारमा १२ ओटा बैंक तथा वित्तीय संस्थाले एकीकृत कारोबार शुरु गरेका छन् । उक्त अवधिमा दुई वाणिज्य बैंक र १० लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार शुरु गरेका हुन् ।  लक्ष्मी बैंक र सनराइज बैंकले असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. २१ अर्ब ६७ करोडभन्दा बढी पुगेको छ ।  त्यस्तै साना किसान र आरएमडिसी लघुवित्त मर्ज भई असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी १ः०.८७ अनुपातमा मर्जमा गएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ३३ करोडभन्दा बढी पुगेको छ ।  नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाले नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८ करोडभन्दा बढी पुगेको छ ।  विजय लघुवित्त र नयाँ सारथि लघुवित्त मर्ज भई विजय लघुवित्त वित्तीय संस्थाको नामबाट असार ३१ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्ज भएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ७४ करोड ५० लाख पुगेको छ ।  त्यस्तै आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी असार ३१ गतेदेखि आशा लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु गरेको छ । राष्ट्र उत्थान लघुवित्तको १०० कित्ता शेयर बराबर आशा लघुवित्तको १०० कित्ता शेयर प्रदान गर्ने गरी प्राप्ति भएको हो । प्राप्तिपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ६४ करोड १५ लाख पुगेको छ । त्यस्तै धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्ज भई धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट असार २० गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी १ः०.७५ अनुपातमा मर्ज भएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. १३ करोड ३१ लाख पुगेको छ ।   राष्ट्र बैंकले यी कम्पनीहरूलाई नै लक्षित गरी असारभित्र एकीकृत कारोबार गरे नियामकीय छूट दिने व्यवस्था गरेको थियो ।  आशा लघुवित्तबाहेक यी सबै कम्पनीको शेयर कारोबार रोक्का छ । कम्पनीहरूको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का हो । नेपाल धितोपत्र बोर्डले मर्जर र प्राप्ति प्रयोजनका लागि गरेको पछिल्लो व्यवस्थाअनुसार मर्जर प्रयोजनका लागि मर्जरमा जाने सबै कम्पनी र प्राप्ति प्रयोजनका लागि प्राप्ति हुने कम्पनीको मात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ । सोही कारण आशा लघुवित्तको शेयर कारोबार भइरहेको छ ।

धौलागिरी र खप्तड लघुवित्तको वित्तीय कारोबार असार १९ गते बन्द हुने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार २० गतेदेखि एकीकृत कारोबार गर्दैछन् । गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले सात महीनाभित्र एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । एकीकृत कारोबारको तयारीस्वरूप असार १९ गते एक दिन दुवै कम्पनीको वित्तीय कारोबार बन्द हुने जानकारी कम्पनीहरूले दिएका छन् । दुई कम्पनी एक भई धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय, बागलुङको बागलुङ नगरपालिका वडा नम्बर २ मा रहने जानकारीसमेत कम्पनीहरूले दिएका छन् । मर्जर प्रयोजनका लागि दुवै कम्पनीको शेयर कारोबार भने असार २० गतेदेखि बढीमा १५ कारोबार दिन रोक्का रहनेछ । मर्जर तथा प्राप्तिसम्बन्धी पछिल्लो व्यवस्थाबमोजिम एकीकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था छ । यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरेका हुन् । धौलागिरी लघुवित्तले गत साउन २४ देखि २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।  त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ देखि १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला