नेपाल–भारत ऊर्जा बैठक : वर्षायाममा खेर जाने विद्युत् भारत निर्यात हुने

 वर्षायाममा खेर जाने विद्युत् निर्यातमा भारतले सहमति जनाएको छ । नेपालले लामो समयदेखि खेर जाने विद्युत् निर्यात गर्न प्रस्ताव गर्दै आए पनि भारतले बेवास्ता गर्दै आएको थियो । बिहीवार काठमाडौंमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले राखेको  विद्युत् निर्यात प्रस्तावमा भारत सहमत भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले बताए ।नेपाल विद्युत् प्राधिकरणबाट बिजुली निर्यात गर्न पेश गरिएका आवेदनहरूलाई आउँदो वर्षायाम अगाडि नै भारतले स्वीकृति प्रदान गर्ने

सम्बन्धित सामग्री

नेपाल–भारत ऊर्जा बैठक : वर्षायाममा खेर जाने विद्युत् भारत निर्यात हुने

काठमाडौं । वर्षायाममा खेर जाने विद्युत् निर्यातमा भारतले सहमति जनाएको छ । नेपालले लामो समयदेखि खेर जाने विद्युत् निर्यात गर्न प्रस्ताव गर्दै आए पनि भारतले बेवास्ता गर्दै आएको थियो । बिहीवार काठमाडौंमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले राखेको  विद्युत् निर्यात प्रस्तावमा भारत सहमत भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले बताए । नेपाल विद्युत् प्राधिकरणबाट बिजुली निर्यात गर्न पेश गरिएका आवेदनहरूलाई आउँदो वर्षायाम अगाडि नै भारतले स्वीकृति प्रदान गर्ने सहमति भएको उनको भनाइ छ । यसले गर्दा वर्षामा खेर जाने विद्युत् भारत निर्यात सहज हुने अधिकारीहरूले दाबी गरेका छन् । हाल उत्पादन अनुसारको खपत हुन नसक्दा वर्षायाममा ५०० मेगावाट बराबर विद्युत् खेर जाने गरेको छ । यसअघि प्राधिकरणले भारतमा ३९ मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात गर्दै आएको छ । साथै, थप मेगावाट विद्युत् निर्यात गर्ने गरी प्राधिकरणले भारतलाई आवेदन दिएको छ । तर, त्यो आवेदन भारतले अझै स्वीकृत गरेको छैन । अब भने अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी नियमअनुसार छिट्टै स्वीकृति दिन भारत सहमत भएको चटौतले बताए । बुधवारदेखि शुरू भएको बैठकमा नेपाल र भारतका ऊर्जा सचिव तथा सहसचिवको उपस्थिति थियो । बैठकले नेपाल र भारतबीच मौजुदा प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, अरुण–३ जलविद्युत् तथा प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात निर्यातलगायत विषयमा विभिन्न निर्णय गरेको छ । बैठकमा दुई देशबीच पहिलो अन्तरदेशीय ढल्केवर मुजफ्फरपुर ४०० किलो भोल्ट प्रसारण लाइनको क्षमता बढाई ६०० मेवासम्म निर्यात गर्न सक्ने बनाउने सहमति भएको छ । हाल उक्त प्रसारण लाइनबाट ३५० मेगावाट विद्युत् आयात निर्यात गर्न सकिन्छ । हेटौंडा–ढल्केवर–इनरुवा ४०० किलो भोल्ट प्रसारण लाइन डिसेम्बर २०२३ मा सम्पन्न भएपछि उक्त प्रसारण लाइनबाट आयात निर्यात हुने विद्युत् क्षमतासमेत थप बढाउने सहमति गरिएको छ । यसैगरी दोस्रो अन्तरदेशीय नयाँ बुटवल–गोरखपुर ४०० किलो भोल्ट प्रसारण लाइनअन्तर्गत भारत खण्डको लाइन बनाउन आगामी अप्रिलमा संयुक्त ग्रीड कम्पनी स्थापना गर्ने सहमति भएको छ । नेपाल खण्डको लाइन नेपाल आफैले बनाउने र भारत खण्डको संयुक्त लगानी (५०/५० प्रतिशत) मा बनाउने सहमति यसअघि नै भएको थियो । त्यसअनुसार भारत खण्डको लाइन बनाउन अप्रिलभित्र नेपाल विद्युत् प्राधिकरण तथा भारत सरकारको संयुक्त स्वामित्व हुने गरी पावर ग्रीड कर्पाेरेशन अफ इन्डिया लिमिटेड स्थापना गर्ने सहमति भएको छ । साथै, त्यसरी स्थापना हुने कम्पनीले लिनुपर्ने स्वीकृति, कम्पनी र प्राधिकरणबीच सम्पन्न गर्नुपर्ने विभिन्न सम्झौताको कार्य पनि अगाडि बढाउने सहमति भएको छ । यस्तै, नेपाल भारतबीच संयुक्त रूपमा ठूला जलविद्युत् आयोजना निर्माण गर्न दुवै देशका २/३ जना प्रतिनिधि हुने गरी संयुक्त प्राविधिक टोली गठन गर्ने सहमति पनि भएको छ । यसैगरी नेपाल र भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावनाबारे अध्ययन गर्ने सहमति भएको छ । त्यसका लागि पनि दुवै देशका प्रतिनिधि हुने गरी प्राविधिक टोली बनाइने बताइएको छ । सन् २०१४ मा भएको नेपाल भारत विद्युत् व्यापार सम्झौताअनुसार भएको यो सचिवस्तरीय समितिको नवौं बैठक हो । उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण र यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न यस्तो बैठक हुँदै आएको छ । हरेक ६/६ महीनामा बैठक हुनुपर्ने भए पनि कोरोनाका कारण बैठक हुन सकेको थिएन । बैठकमा नेपालका ऊर्जा सचिव देवेन्द्र कार्की र सहसचिव चिरञ्जीवी चटौत सहभागी दिए । यस्तै, भारतबाट ऊर्जा सचिव आलोक कुमार र सहसचिव घनश्याम प्रसाद उपस्थित थिए । बुधवार सम्पन्न ऊर्जा सह सविचस्तरीय संयुक्त कार्यदलले सिफारिश गरेका विषयलाई सचिवस्तरीय बैठकमार्फत निर्णायक तहमा पुर्‍याइएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जा बैठकमा भएको सहमति स्वागतयोग्य भएको बताए । ठूला आयोजना बनाउन, प्रसारण लाइन बनाउन, अन्तरदेशीय विद्युत् व्यापार गर्न यो सहमतिले ठूलो सहयोग पुग्ने उनको भनाइ छ । नेपालमा लगानी अभावका कारण ठूला आयोजना बन्न सकेका छैनन् । यस अवस्थामा भारतले ठूला आयोजनामा लगानी गर्न चासो देखाउनु सकारात्मक भएको ऊर्जा व्यवसायीहरू बताउँछन् ।