माघ ९, काठमाडौं । काठमाडौंको न्यूरोडस्थित एनएसी अगाडि आइतवार साँझ सार्वजनिक बस चढ्न प्रतिक्षारत सर्बसाधारण यात्रुहरु ।
कोरोना भाइरसको तेस्रोे लहरका कारण सरकारले सवारी साधनहरुमा जोरबिजोर नियम लागू गरेसँगै सार्वजनिक सवारी साधनहरुमा यात्रुहरुको भिडभाड बढेको छ ।
भिडभाडबाट संक्रमणको जोखिम उच्च हुने भन्दै सरकारले भिडभाडजन्य क्षेत्रमा गत शनिवारदेखि प्रतिबन्धात्मक व्यवस्था लागू गरेको हो । बढ्दो संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ।
उपत्यकाका तीन ओटा जिल्ला प्रशासन कार्यालयबाट स्वास्थ्य सतर्कतासहित उपत्यकामा गुड्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
सार्वजनिक यातायातमा जोरबिजोर लागू गर्दा सडकमा आधा सार्वजनिक सवारीहरू गुडिरहेका छन् । सबै किसिमका कार्यालयहरू खुलेका छन् । यस्तो अवस्थामा यात्रुहरू कोचिएर यात्रा गर्न बाध्य छन् । यसले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरू कोरोना संक्रमणको केन्द्रविन्दुमा पर्ने जोखिम उच्च छ ।
सबै किसिमका कार्यालयहरू खुलिरहेका छन् । यस्तो अवस्थामा सर्वसाधारणको चाप घट्ने कुरा भएन । यात्रुवाहक सवारीमा जोरबिजोर लागू गर्दा सर्वसाधारणले सहजै यात्रा गर्न पाउने अवस्था नहुनु स्वभाविक पनि हो ।
तर जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक जना सुरक्षा अधिकारी भने सडक तथा चोकमा भिडभाड कम गर्ने उद्देश्यले नै जोरबिजोर लागू गरिएको दाबी गर्छन् । उनले यो प्रणाली प्रभावकारी भए/नभएको बारे समीक्षा गरिरहेको पनि बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार २४ घण्टाको अवधिमा १३ हजार ३७७ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४ हजार ६० ओटा नमूनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार हाल मुलुकभर ७७ हजार ४० सक्रिय संक्रमित छन् । मन्त्रालय अन्तर्गतको सरुवा रोग महाशाखाले यसै हप्ता संक्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ।
उपत्यकामा भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाइनुका साथै विद्यालय, सिनेमा घर, जिमखानासहितका भिडभाड हुने सेवाहरू बन्द गरिएको छ। घरबाट बाहिर निस्कँदा मोबाइलमा भए पनि खोप कार्ड पनि अनिवार्य रूपमा राख्न भनिएको छ। शब्द : नरहरि आचार्य तथा तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान