इजरायलमा राेजागारीकाे आवेदन फागुनको दोस्रो साता, सफ्टवेयर तयार

सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ता भित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पुरा भएको बताउदै आवेदन खुला गर्ने तयारी भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । फागुनको पहिलो हप्ता आवेदनको ढाँचा पुरा गरि दोस्रो हप्ता भित्रमा मन्त्रालय सँग छलफल गरि आवेदन खोल्ने गृहकार्य भईरहेको महानिर्देशक दहालले बताउनुभयो । इजरायलले नेपाली कामदार छिटो लैजान चासो दिएकोले विभागले पनि त्यसैअनुसार काम गरिरहेको उहाँले बताउनुभयो । रोजगारीको लागि इजरायल जान इच्छुक कामदारले आवेदन खुला भएपछि आफै घरबाटै आवेदन दिन सक्नेछन् । बिभागले आवेदनको ढाँचा तयारी गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ ।आवेदन खुलेसंगै पहिलो चरणमा ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् ।